दाङ । नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका– ५ सिमलखुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

ज्ञान बहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय, दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको हो ।

गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाइ जन्मदर्ता बनाएको प्रहरीको भनाइ छ । जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिससमेत दिएको थियो ।

त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ । डिएसपी गौतमका अनुसार राजपुर गाउँपालिका ५ का वडाअध्यक्ष टंकबहादुर विष्ट र वडा सचिव फरार रहेका छन् ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । नागरिकता बनाइदिने ज्ञानबहादुर विकलाई जेठ २५ गते पक्राउ गरिएको थियो । त्यसपछि नागरिकता लिने विवेक विक जेठ २८ मा पक्राउ परेका थिए भने बाँकी ६ जनालाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिनुभो ।

यता, दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पछि अदालतको निर्णय अनुसार किर्ते गरी लिएको नागरिकता रद्द गर्ने र दोषीलाई कानुन बमोजिमको सजाय हुने जानकारी दिनुभयो ।