काठमाडौं । कोरोना महामारीका समयमा जिल्ला जिल्लामा पुगेको स्वास्थ्य उपकरण प्रयोगहीन भएको पाइएको छ । आईसीयू, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीमा माकुराको जालो लाग्ने अवस्था छ ।
कोरोना महामारीको समयमा अक्सिजनकै अभावमा मानिसहरुको मृत्यु हुन थालेपछि दातृ निकायहरुले सहयोग गरे, विभिन्न संघ संस्थाले पनि उपकरण सहयोग गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जम्मा भएका उपकरण ठूला अस्पतालहरुमा मात्र पुगेनन्, राजनीतिक पहुँचको भरमा जनशक्ति र भौतिक पूर्वाधारको अवस्था नहेरी विभिन्न अस्पतालमा पुगेको थियो ।
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार २९९ वटा भेन्टिलेटर हाल प्रयोगहीन अवस्थामा छन् । १२२ भेन्टिलेटर त केन्द्रीय स्टोरमा थन्किएरै बसेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुका अनुसार हाल भेन्टिलेटर लगायतका अन्य स्वास्थ्य उपकरण सञ्चालन हुन नसक्नुमा प्रमुख तीन कारण छन् ।
पहिलो : दक्ष जनशक्ति नहुनु ।
दोस्रो : स्वास्थ्य उपकरण राख्ने पूर्वाधार निर्माण नहुनु ।
तेस्रो : राजनीतिक पहुँचको भरमा अनावश्यक रूपमा स्वास्थ्य उपकरण लैजानु ।
विभागका एक अधिकारीका अनुसार कोरोना महामारीमा आएका स्वास्थ्य उपकरण ४० प्रतिशतभन्दा बढी राजनैतिक शक्तिको दुरूपयोग गर्दै नेता तथा सरकारमा रहेका उच्च अधिकारीले आफ्ना क्षेत्रमा लगेका छन् । ‘नेता तथा कर्मचारीले मन्त्रालयबाट सिफारिस गराएपछि कामै नलाग्ने ठाँउमा पनि पठाउनुपर्ने बाध्यता भयो’, ती अधिकारीले भने, ‘राजनैतिक शक्तिको दुरुपयोग गर्दै लगिएको स्वास्थ्य उपकरणमा अहिले माकुराको जालो लागेर बसेका छन् ।’
प्रदेश वा अस्पतालका पदाधिकारी जनशक्ति, भौतिक पूर्वाधारको जोहो नै नगरी खरिद गरेका उपकरण पनि स्टोरमा थन्किएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कमिसनको लोभ र राजनीतिक स्वार्थले पनि स्वास्थ्य उपकरण खरिद हुने प्रवृत्ति देखिएको छ । ‘जिम्मेवार निकायमा बसेका पदाधिकारीहरू कमिसनको लोभमा उपकरण खरिद गर्न तम्सिन्छन् । तर उपकरण सञ्चालन गर्न लागि दक्षजनशक्ति, उपकरण राख्ने पूर्वाधार कुनै टुंगो हुँदैन’ एक अधिकारीले भने, ‘नेता वा पहुँचवाला मानिसले आफ्ना क्षेत्रमा काम गरेको छु भनेर देखाउनका लागि आवश्यकता नभई उपकरण लैजाँदा अहिले स्ट्रोरमै स्वास्थ्य उपकरण थन्किए ।’
विभागले उपलब्ध गराएको तथ्यांक अनुसार हातले विपाप (शरीरमा अक्सिजन पुर्याउने) मेसिन ३५३, इन्फ्यूजन पम्प (आइसियूमा प्रयोग हुने उपकरण) १७४, सिप्याप मेसिन ८७, डिफिब्रिलेटर (मुटुको चाल नाप्ने मेसिन) ४९, मोबाइल थर्मोकोगुलेटर २७, प्रोटेबल युएसजी मेसिन २४, हेमोडायालासिस मेसिन १२ बिरामीलाई बेहोस गर्न सहयोग गर्ने मेसिन १२ , फोहोरलाई संक्रमणमुक्त बनाउने मेसिन (१५० ) लिटरको ८, रगत परीक्षण गर्ने मेसिन ६, इसीजी मेसिन १२ वटा लगायतका प्रयोगहीन अवस्थामा छन् ।
वीर लगायतका ठूला अस्पतालमै भेन्टिलेटर लगायतका उपकरण थन्किएर बसेको छ । वीर अस्पतालमा ५६ वटा भेन्टिलेटर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २१ वटा भेन्टिलेटर, भेरी अस्पतालमा १६, हेल्थ इन्भाइरन्मेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनमा १५ र कोशी अस्पतालमा १४ भेन्टिलेटर प्रयोगहीन छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२, दमक अस्पतालमा ८, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७, भक्तपुर अस्पतालमा ६, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ६, त्रिवि शिक्षण अस्पतालमा ५, प्रादेशिक अस्पताल जनकपुरमा ५, निजामति कर्मचारी अस्पतालमा ३ र इलाम अस्पतालमा ३ भेन्टिलेटर प्रयोगहीन अवस्थामा छ ।
सेती प्रादेशिक अस्पताल, मदन भण्डारी हस्पिटल एण्ड ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, उपदयपुर जिल्ला अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमौली जिल्ला अस्पतालमा दुई–दुई वटा भेन्टिलेटर थक्किएर बसेका छन् । जिल्ला अस्पताल रसुवा, जनस्वास्थ्य कार्यालय काठमाडौं, खादबारी नगरपालिका संखुवासभा, कानेपोखरी गाउँपालिका मोरङमा, हरिवन नगरपालिका सर्लाहीमा, जिल्ला अस्पताल सोलुखुम्बुमा लगायतका स्वास्थ्य संस्थामा एक–एक वटा भेन्टिलेटर प्रयोगहीन अवस्थामा छ ।
आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि छुट्टै विशेषज्ञ टिम आवश्यकता पर्छ, जुन जनशक्ति जिल्लाका अस्पतालहरुमा छैनन् । राजधानी वा सहर केन्द्रित अस्पतालमा पनि पर्याप्त जनशक्ति र भौतिक पूर्वाधार नभएको भनेर थन्काइएको छ ।
वीर अस्पतालका एक चिकित्सक भन्छन्, ‘सरकारी अस्पतालमा भेन्टिलेटर लगायतका उच्च प्रविधियुक्त उपकरण जडान नहुनुमा निजी अस्पतालका सञ्चालकको स्वार्थ हुन्छ ।’
‘अरू अस्पतालमा पठाउँछौं’
स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया पनि कोरोनाको समयमा स्वास्थ्य उपकरण प्रयोगमा भएपनि हाल सञ्चालन गर्न नसक्ने बताउँछन् ।
‘त्यसबेला आईसीयू, अक्सिजन सिलिन्डर लगायतका उपकरणको ठूलो माग थियो । त्यहीअनुसार जिल्ला–जिल्लामा उपकरण पुगे’ डा. चौरसियाले अनलाइनखबरसँग भने, ‘त्यसमध्ये केही उपकरण अहिले सञ्चालनमा आउन सकेको छैन ।’
उनका अनुसार कतिपय अस्पतालमा भौतिक पूर्वाधार बन्दै गरेको छ भने कतिपय ठाउँमा तालिम प्राप्त जनशक्ति नहुँदा पनि उपकरण सञ्चालन हुन सकेको छैन ।
यसरी थन्किएर बसेका स्वास्थ्य उपकरणलाई आवश्यक परेको ठाउँमा पठाउने तयारी गरिरहेको आपूर्ति शाखाले जनाएको छ । ‘प्रयोगमा नआएका उपकरणहरु आवश्यक परेको अस्पतालमा पठाउने गहृकार्य गरिरहेका छौं’ डा. चौरसियाले भने ।
श्राेत : अनलाइन खबर