काठमाडौं ।।
चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाउँदा पनि शिक्षामन्त्रीले केही गर्न नसक्नुले आशंका बढाएको बताएका छन् ।
उनले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याउन पनि माग गरेका छन् । ‘आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौं’ केसीले भनेका छन् ।