बाँके ।।
बर्दियाको बढैयाताल गाउँपालिका-२ का खटकराज बुढा शनिबार दसैँ-तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल-भारत सीमानाका जमुनाहमा भेटिए । बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए ।
६० वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको सुनाए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु,” उनले भने, “मिले दसैँ-तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।”
बुढा विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ,” उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र तर, गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”
बुढाजझैँ सुर्खेत, मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ-तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए ।
उनले भने, “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।”
उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए । यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनी पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाह नाकामा भेटिए ।
उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू वर्षैपिच्छे भारत जानुपरेको बताए ।
“आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन,” उनले भने, “भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।” बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए । विगत १८ वर्षयता उनी भारतमा गएर काम गरिरहेका छन् ।
“पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यति बेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो,” उनले भने, “आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुनपसिना बगाउन मलाई मन छैन, तर यो बाध्यता हो ।”
प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्छ । यो वर्ष पनि असारे खेतीबाली सकेर दसैँ-तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । रासस