काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
उनले भने- ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’