November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इजरायल–प्यालेस्टाइन संघर्षको नालीबेली : देश जन्मिँदै सुरु भएको थियो यो दुर्भाग्य

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:५६
इजरायल–प्यालेस्टाइन संघर्षको नालीबेली : देश जन्मिँदै सुरु भएको थियो यो दुर्भाग्य

काठमाडौं। अक्टोबर ७ शनिबार बिहान सबेरै प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथि लगातार रकेट आक्रमण गरेपछि भड्किएको युद्धले यतिखेर फेरि एकपटक विश्वको ध्यान खिचेको छ । युद्धको दुई दिनभित्रै दुवै तर्फगरी एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ, त्यसमा १० नेपालीसमेत छन्।

यो युद्ध कति लामो जान्छ र के-कति क्षति पुर्‍याउँछ यसै भन्न सकिने अवस्था छैन । तर, यो बिल्कुलै नयाँ कुरा भने हैन । इतिहासमा इजरायल–प्यालेस्टाइनबीच बारम्बार यस्ता संघर्ष चर्किएका थिए । साना-ठूला जोड्ने हो भने दुई दर्जन भन्दा बढी युद्ध भएका छन् । इजरायल–प्यालेस्टाइन संघर्षलाई आधुनिक कालखण्डको ‘संसारकै सबैभन्दा लामो द्वन्द्व’ भनिन्छ ।

यो द्वन्द्व वेलफोर घोषणादेखि १०६ वर्ष र इजरायल राज्यको स्वतन्त्रताको घोषणायता ७५ वर्ष लामो छ । इजरायल र प्यालेस्टाइनको जन्मसँगै जोडिएर आएको दुर्भाग्य हो यो ।

यसरी जन्मेको थियो इजरायल

इजरायल संसारको एक मात्र ‘यहुदी राज्य’ हो । यो यहुदीहरूकै लागि अन्तर्राष्ट्रिय समुदायको बहुमत हिस्साले समर्थन गरेर स्थापना भएको राज्य हो । तसर्थ, इजरायलको संविधानमै ‘यहुदी लोकतान्त्रिक गणतन्त्र’ लेखिएको छ । संसारभरिको जुनसुकै देशको यहुदी धर्मावलम्बी इजरायल जान चाहेमा नागरिकता र बसोवासको सुविधा पाउँछ ।

यहुदी एक सानो धार्मिक समुदाय हो । करिब ८ अर्ब विश्वको जनसंख्याको ०.२ प्रतिशत अर्थात् करिब १ करोड ६० लाख यहुदी धर्मावलम्बी छन् । इजरायलको करिब ९५ लाख जनसंख्या मध्ये ७३.५ अर्थात् करिब ७० लाख यहुदी छन् ।

सबैभन्दा बढी यहुदी जनसंख्या भएको देश भने अमेरिका हो । अमेरिकामा करिब ७६ लाख यहुदी छन्। यहुदीको बाँकी जनसंख्या फ्रान्स, क्यानडा, जर्मनी, बेलायत, अर्जेन्टिना, ब्राजिल, युक्रेन, रुस, अस्ट्रेलियाआदि देशमा छरिएको छ ।

पहिलो विश्वयुद्धको अन्त्यतिर यहुदीको जनसंख्या असाध्यै सानो भइसकेको थियो । हिब्रु भाषा मृतप्राय हुन लागेको थियो । तर, यहुदी बहुल देश थिएन । तसर्थ, उनीहरूको राज्य पनि थिएन । यहुदीहरू राज्यविहीन विश्व नागरिकजस्तो भएका थिए । त्यही बेलादेखि यहुदीहरूको भविष्यलाई लिएर विश्वव्यापी बहस र चिन्ता भएका थिए ।

यही सन्दर्भमा पहिलो विश्वयुद्धको अन्त्यतिर प्यालेस्टाइनको निश्चित भूभागलाई लिएर इजरायल राज्य घोषणा गर्ने प्रस्ताव अघि आएको थियो । यो घोषणालाई ‘वेलफोर घोषणा’ भनिन्छ ।

के हो वेलफोर घोषणा ?

यो सन् १९१७ को घटना हो । त्यो वर्षको नोभेम्बर २ मा बेलायती विदेशमन्त्री अर्थर वेलफोरले बेलायती यहुदी समुदायका नेता लर्ड रोथस्चाइल्डलाई एक पत्र लेखेका थिए, त्यसमा उनले यहुदी अल्पसंख्यकका लागि उनीहरूको प्राचीन मातृभूमि प्यालेस्टाइनमा एक राज्य स्थापना गर्ने प्रतिबद्धता थियो । यसलाई ‘वेलफोर घोषणा’ भन्ने गरिन्छ ।

प्यालेस्टाइन त्यो बेला ओटोमन साम्राज्यको हिस्सा मानिन्थ्यो । करिब ४ शताब्दीदेखि प्यालेस्टाइन अटोमान साम्राज्य अधिनस्थ थियो । पहिलो विश्व युद्धमा ‘धुरी राष्ट्र’ मा सामेल भएको अटोमान साम्राज्य ‘मित्र राष्ट्र’ संगको पराजयपछि टर्कीका रूपमा सीमित भयो भने अटोमान साम्राज्यको बाँकी भूभाग पुनर्संरचना गरिने प्रस्ताव अघि आयो । यही सन्दर्भमा एक यहुदी राज्य स्थापना गर्ने घोषणा वेलफोरले गरेको थियो ।

युद्धोत्तर अटोमानको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा युद्धरत पक्षहरूबीच विभिन्न छलफल चलिरहेका थिए । अमेरिका, बेलायत र युरोपले प्यालेस्टाइन क्षेत्रमा यहुदीको जनसंख्या बढाउन प्रेरित गरेका थिए भने टर्कीले यहुदी जनसंख्याको संकेन्द्रणलाई बाधा हालिरहेको थियो ।

सन् १९१४ पछि प्यालेस्टाइन क्षेत्रमा यहुदी जनसंख्या बढ्दै गयो, किनकी यहुदीहरूले जमिन किन्ने अधिकार पाएका थिए । संसारभरि छरिएका यहुदी औसत धनी र शिक्षित थिए । धन र शिक्षाका बाबजुद विश्वव्यापी दमन, अपमान र पीडा भोगिरहेका यहुदीहरू बेलायतको वेलफोर घोषणपछि उत्साहित थिए । उनीहरूले प्यालेस्टाइन क्षेत्रमा धमाधम जमिन किन्न थाले । अधिकांश यहुदीले प्रचलित मूल्यभन्दा धेरै महँगो मूल्यमा जमिन किनेका थिए ।

स्थानीय मुस्लिम तथा क्रिश्चियन राजनीतिज्ञ भने बेलायतको घोषणा र यहुदीले धमाधम जमिन किनिरहेको घटनाबाट आक्रोशित थिए । ठीक त्यही बेला मुस्लिम र क्रिश्चियन समुदायमा भने यहुदी विरोधी र प्यालेस्टाइनी राष्ट्रवादको भावना जन्मेको थियो ।

वेलफोर घोषणाका बाबजुद यहुदी राज्यको औपचारिक स्थापना भने सहज भएन । सन् १९३६–१९३९ को बीचमा बेलायतविरुद्ध प्यालेस्टाइनी राष्ट्रवादीहरूले ठूलो विद्रोह गरे । त्यहीबीच दोस्रो विश्वयुद्ध आयो । हिटलरले यहुदीमाथि चरम दमन गरे । सन् १९४१–२०४५ को बीचमा मात्र जर्मनी र जर्मनी अधिनस्थ युरोपका विभिन्न ठाउँमा हिटलरले ६० लाख यहुदीको हत्या गरे ।

यहुदी राज्य स्थापनाको जटिल प्रयत्न दोस्रो विश्वयुद्धमा जर्मनीको हारपश्चात् मात्र सम्भव भयो। सन् १९४७ को नोभेम्बर २९ मा संयुक्त राष्ट्र संघले बेलायतको प्रस्तावमा प्यालेस्टाइनको विभाजन र इजरायल राज्य स्थापनाको संकल्प प्रस्ताव पारित गर्‍यो । सन् १९४८ मे १४ मा प्यालेस्टाइनी क्षेत्रका यहुदीको संगठनका नेता डेबिट बेन गुरियनले इजरायल राज्य स्थापनाको घोषण गरे । उनी इजरायलको प्रथम प्रधानमन्त्री पनि बने ।

वेलफोर घोषणको १०६ वर्ष र इजरायल राज्य स्थापनाको ७५ वर्षपछि पनि ‘यहुदी राष्ट्र’ र ‘प्यालेस्टिाइनी राष्ट्रवाद’ को मनोभावना र झगडा कायमै छ।

को हुन् यहुदी ?

यहुदी शब्द हिब्रु भाषाको हो । यसको अर्थ हुन्छ– युदाह राज्यका बासिन्दा । हिब्रु बाइबलअनुसार युदाह ज्याकोबका चौथा छोरा थिए र ज्याकोब अब्राहमका नाति थिए । यहुदी, इस्लाम र इसाई– यी तीनवटै धर्म अब्राहमिक परम्पराबाट आएका हुन् । यी तीनमा पनि सबैभन्दा पुरानो यहुदी हो ।

विश्लेषक ठान्छन् कि यहुदीमा धर्म, संस्कृति, राष्ट्रियता र नृजातीयता ४ वटै गुण एकै साथ छन् । तसर्थ, उनीहरू एक राष्ट्र हुन् र कहीँ न कहीँ उनीहरूको पनि राज्य हुन आवश्यक थियो । यहुदी धर्म, जाति, संस्कृति र हिब्रु भाषाको उत्पति कम्तीमा ३ हजार वर्षअघि भएको विश्वास गरिन्छ ।

अरब राजनीतिका एक जानकार मोहम्मद इम्तियाजले लेखेका छन्–‘इजरायलको स्थापनाले मानव जातिलाई कुनै नोक्सानी भएको छैन । त्यति सानो भूगोल र १ करोड कम जनसंख्यामै उनीहरूले ५०० विलियन डलरको अर्थतन्त्र बनाएका छन् । जबकि यस क्षेत्रका अरब देशको जम्मा अर्थतन्त्र ३०० विलियन डलरको छ । त्यो मरुभूमिमा यहुदीबाहेक अरु कसले यस्तो उन्नति गर्न सक्थ्यो ? ’

प्यालेस्टाइनको पाटो

संयुक्त राष्ट्र संघको इजरायल राज्य गठन गर्ने संकल्पपछि बाँकी भूभागमा जेरुसेलमलाई राजधानी बनाएर अर्को राज्य बन्यो- प्यालेस्टाइन । तर, निकै सानो र कमजोर राज्य । प्यालेस्टाइन इजरायलको करिब ३ भागको एक भाग छ । करिब ६ हजार वर्गकिमी क्षेत्रफल छ भने जनसंख्या करिब ५५ लाख ।

प्यालेस्टाइनी राजनीतिमा सधैं दुई भावना र दृष्टिकोण रहँदै आएका छन् । एकाथरि इजरायल राज्यको स्थापनालाई नै अस्वीकार गर्दछन् । अर्काथरि भने वेस्ट बैंक र सम्पूर्ण गाजापट्टी क्षेत्र प्यालेस्टाइनमा हुनुपर्ने र दुवै राज्य सह-अस्तित्वमा बाँच्नुपर्ने धारणा राख्दछन् ।

हमास पहिलो प्रकारको धारणा राख्ने समूह हो भने प्यालेस्टाइनी मुक्ति मोर्चा–फतेह दोस्रो प्रकारको । प्यालेस्टाइन र इजरायल बीचको मुख्य समस्याको कारण भने वेस्ट बैंक र गाजापट्टी क्षेत्र नै हुन् । त्यसो त जेरुसेलमलाई समेत विभाजन गर्ने कि नगर्ने भन्ने बहस यदाकदा हुने गर्दछ ।

वेस्ट बैंक र गाजापट्टी दुवै क्षेत्रको अधिकांश भूभाग सन् १९६७ को युद्धपछि इजरायलको नियन्त्रणमा छ । सन् १९९५ मा नर्वेको मध्यस्थतामा यसबारे सहमति बनाउने प्रयास भएको थियो, तर सफल भएन । प्यालेस्टाइनीहरू पूरै वेष्ट बैंक र गाजापट्टी फिर्ता गर्न चाहन्छन् भने इजरायल दुवै क्षेत्रको पूरै कब्जा गर्न चाहन्छ ।

इजरायल राज्यको स्थापनापश्चातको स्थिति

इजरायल राज्यको स्थापनापछि पनि स्थिति सहज भएन । लगत्तै अरब मुक्ति मोर्चा नामको संगठन देखा पर्‍यो । त्यसले इजरायल घोषित क्षेत्रका यहुदी बस्तीमा हिंसात्मक आक्रमण गर्न थाल्यो । बेलायत, रुस, अमेरिका लगायतको समर्थनको कारणले इजरायल राज्यको स्थापनापछि इसाई असन्तुष्टि शिथिल हुँदै गयो, तर मुस्लिम समुदाय भने झन् झन् आक्रोशित हुँदै गयो ।

अरब मुक्ति मोर्चाले इस्लाम बहुल अरबी राज्यहरु समेटेर एउटै विशाल अरब साम्राज्य बनाउने सपना देख्थ्यो । यसको संगठन लेबनान, प्यालेस्टाइन, इरान, इराक, सिरिया, इजिप्ट आदि देशमा थियो ।

प्यालेस्टाइन–इजरायलबीच पहिलो युद्ध सन् १९४८ मा भयो । यो युद्ध करिब दुई वर्ष चलेको थियो । यो युद्धमा दुवैतिर गरी करिब २१ हजार मानिस मारिएका थिए । यो युद्ध इजरायलले जिते पनि अरब क्षेत्रको असन्तुष्टि भने अन्त्य भएन ।

सन् १९५६ मा अर्को ठूलो युद्ध भयो यसका लागि इतिहासकार इजरायललाई दोष दिन्छन् । किनकि, असन्तुष्टिका बाबजुद शान्तजस्तो देखिएको अरब क्षेत्रलाई इजरायलको आक्रमणले. उक्साएको थियो । यो युद्धको उद्द‍ेश्य इजिप्टबाट स्वेज नहरको नियन्त्रण खोस्नु थियो । अमेरिका र फ्रान्सको सहयोगमा इजरायलले गाजा पट्टी नियन्त्रणमा लिई इजिप्टमाथि आक्रमण गरेको थियो ।

सन् १९६४ मा एक नयाँ प्यालेस्टाइनी संगठनको जन्म भयो, जसलाई प्यालेस्टाइन मुक्ति मोर्चा (पीएलओ) भनिन्छ । यसका नेता यासिर अराफात थिए । उनी निकै लोकप्रिय नेता रहे ।

सन् १९६७ को ६ दिने युद्ध तेस्रो ठूलो मानिन्छ । यो युद्ध भने अराफात नेतृत्वको पीएलओले अरब लिगको समर्थनमा लडेको थियो । यसको उद्देश्य इजरायलको नियन्त्रणमा रहेका केही भूभाग फिर्ता ल्याउनु थियो । तर, पीएलओ यस उद्देश्यमा सफल भएन । यो युद्धमा करिब १ हजार इजरायली र करिब २० हजार अरबी मारिएका थिए । त्यस यताको हरेक दशकमा यी दुई देशबीच युद्ध हुँदै आएका छन् ।

के हो हमास ?

सन् १९८७ मा एक नयाँ प्यालेस्टाइनी राष्ट्रवादी संगठन जन्मियो– हमास । यसको अर्थ हुन्छ– इस्लामिक प्रतिरोध आन्दोलन । यसको जन्म ‘मुस्लिम ब्रदर्श हुड’ को विश्व संगठनको फुटबाट भएको थियो। मुस्लिम ब्रदर्श हुड सन् १९२८ मा स्थापित एक विश्व संगठन हो । यही संगठनको इजिप्ट शाखाका नेता मोहम्मद मुर्सी सन् २०११ मा इजिप्टको राष्ट्रपति निर्वाचित भएका थिए । पछि उनलाई अपदस्थ गरियो ।

हमासले प्यालेस्टिाइनी चुनाव बहिष्कार गरी हिंसात्मक आन्दोलन गर्दै आएको थियो । तर, सन् २००६ को संसदीय चुनावमा भने हमासले भाग लियो । हमासका संस्थापक नेता अहमद यस्मिन थिए भने अहिले यसको नेतृत्व इस्माइल हानियाले गरिरहेका छन् । सन् २००६ को चुनावपछि हानिया केही समय प्रधानमन्त्रीसमेत भएका थिए ।

सन् २००४ मा पीएलओका नेता यासिर अराफातको निधनपछि यसको नेतृत्व महमुद अब्बासले गरिरहेका छन् । उनी अहिले प्यालेस्टाइनको राष्ट्रपति छन् । उनले सन् २००७ को एक राजनीतिक विवादमा हमास नेता हानियालाई प्रधानमन्त्रीबाट हटाएका थिए । तर, गाजा पट्टीको प्यालेस्टाइनी क्षेत्रमा हमासकै शासन प्रशासन चलिरह्यो । यस बीच हमासले भित्रभित्रै युद्धको तयारी गरेको बुझिन्छ । अब्बास नेतृत्वको सरकार भने जेरुसेलम अधिनस्थ क्षेत्रमा सीमित छ ।

पछिल्लो द्वन्द्वको कारण

हमासले ठीक यतिखेरै इजरायलमाथि किन आकस्मिक आक्रमण गर्यो भन्ने प्रश्न अझै अनुत्तरित छ । तर, विश्लेषकका अनुसार यसका पाँचवटा कारण हुन सक्दछन् ।

एक– हमासले भित्रभित्रै युद्धको तयारी गरिरहेको थियो । आफ्नो आन्तरिक तयारी पूरा भएको विश्लेषणका आधारमा आक्रमण भएको हुन सक्दछ ।

दुई– यसबीच इजरायली राजनीति तनावग्रस्त थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘न्यायिक कु’ मार्फत् लोकतन्त्र र राज्यप्रतिको जनविश्वासलाई कमजोर बनाएको आरोप थियो । प्रधानमन्त्री नेतान्याहूका विरुद्ध इजरायलमा अघिल्ला महिना व्यापक जनप्रदर्शन भइरहेका थिए । इजरायलको आन्तरिक राजनीतिक किचलोलाई हमासले आफ्ना लागि अनुकूल ठानेको हुन सक्दछ ।

तीन– नेतान्याहूले प्यालेस्टाइनमाथि निर्णायक विजय हासिल गर्न आफू बलियो हुन जरुरी रहेको बताउँदै आएका थिए । उनले वेस्ट बैंक र गाजा पट्टीको सबै क्षेत्र कब्जा गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री नेतान्याहूको यस्तो भाषणबाजीले हमासलाई उत्तेजित बनाएको हुन सक्दछ ।

चार– गाजापट्टी क्षेत्रको विभाजनले स्थानीयको दैनिक जीवन र अर्थतन्त्र निकै जटिल भएको थियो । हमासको पकड पनि यही क्षेत्रमा थियो । स्थानीय जनताको असन्तुष्टिको कारण यो क्षेत्रको पकड गुम्ने भयले हमासले आक्रमण गरेको हुन सक्दछ । हमासले यस क्षेत्रको सीमामा लगाइएको तारबार भत्काएको देखिन्छ ।

पाँच– पुरानो जेरुसेलमका मुस्लिम धर्मालम्बीका लागि मक्का, मदिनापछि तेस्रो पवित्र तीर्थस्थल मानिने अल–आक्सा मस्जिदमा केही दिनअघि यहुदी धर्मावलम्बी पसेको हल्ला चलेको थियो । सायद, यो धार्मिक कारणबाट समेत हमास उत्तेजित भयो ।

अब्बास सरकारको प्रतिक्रिया

प्यालेस्टाइनी राजनीतिमा एक-अर्काका प्रतिस्पर्धी रहेका हमास र पीएलओ समूहबीच पछिल्लो सम्बन्ध कस्तो हो ? जेरुसेलमको महमुद अब्बास सरकारले हमासको इजरायलमाथिको आक्रमणमा कस्तो प्रतिक्रिया देला ? यसबारे पनि विश्व समुदायको चासो थियो ।

तर, अब्बास सरकारले यसलाई ‘प्यालेस्टाइनीको प्रतिरक्षाको अधिकार’ भनेको छ । ‘आप्रवासी आक्रमणकारी’ हरूविरुद्ध प्रतीरक्षाको अधिकार प्यालेस्टाइनीको जन्मसिद्ध भएको बताएको छ । यसबाट प्रष्ट हुन्छ कि पीएलओ र अब्बास सरकार पनि हमासले गरेको आक्रमणको पक्षमा छ । साथै, अब्बास सरकारले अरब लिगको आकस्मिक बैठक बस्न र प्यालेस्टाइनलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

भनिन्छ– हमासलाई इरानको प्रत्यक्ष समर्थन र सहयोग छ । जेरुसेलमको आग्रहलाई अरब लिगले कसरी लिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

 

स्रोत : नेपाल भ्युज

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्