काठमाण्डाै ।।
ललितपुरको चापागाउँमा शीरमात्र भएको बज्रबाराही देवीको जात्रा आजदेखि शुरु हुँदैछ । चन्द्रमास पात्रोअनुसार कात्तिक शुक्ल मरुअष्टमीको दिनदेखि हुने यस जात्रालाई ‘मरस्ती जात्रा’ भन्ने गरिएको छ। यो खट जात्रा चापागाउँ बजारभित्र मात्र परिक्रमा गराइन्छ । जात्रामा बज्रबाराहीसहित अष्टमातृकाको मूर्तिहरूसहितको खट जात्रा हुन्छ । कात्तिकशुक्ल अष्टमीका दिनमा देवदेवीको मूर्तिहरू बाहिर निकाल्नुभन्दा पहिले चोखो मण्डपमा राखेर तान्त्रिक विधिबाट पूजा गरिन्छ ।
मरुअष्टमीको दिनमा जात्रा गर्ने देवदेवीको मूर्तिहरू २०४६ सालमा चोरी भएकोले रोकिएको जात्रा गएको वर्षदेखि सञ्चालनमा आएको हो । चैत्र महिनामा सुनको जलप लगाएको राँगा माथि उभिएकी चारहात भएकी बज्रबाराही देवीको सुनौलो मूर्तिको खट जात्रा हुने गरेको छ । यसरी चापागाउँमा वर्षको दुईपटक बज्रबाराहीको जात्रा हुने गरेको छ ।