May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाँदर आतङ्कले किसान हैरान

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:३३
बाँदर आतङ्कले किसान हैरान
  • भोजपुरका किसानको मुख्य समस्या नै बाँदर
  • बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझै राखे 
  • एक घण्टामै वर्षभरि खाने अन्न सखाप

भाेजपुर ।।

भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि ठूलाे समस्या बाँदर आतङ्क भएकाे यहाँका किसानले बताएका हुन् । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन नसकिए पछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताउनुभयो । ‘हामी किसानको मुख्य समस्या नै बाँदर बनेको छ’, उहाँले भन्नुभयो, ‘बाँदर प्रभावित क्षेत्रमा मल बीउभन्दा ठूलो समस्या यही हो । एक घण्टामात्र बाँदर बालीमा पस्यो भने वर्षभरि खाने अन्न सखाप पार्छ । त्यही भएर जमिन बाँझो छाड्नु हाम्रो बाध्यता बनेको छ ।’

पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको  बोखिमका  किसान गङ्गा प्रधानले बताउनुभयो । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । ‘बाँदरले खेतबारी अन्न पाक्न दिँदैन’, उहाँले भन्नुभयो, ‘जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।’

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताउनुभयो । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उहाँले जानकारी दिनुभयो ।

‘बाँदरका कारण बस्ती नै खाली हुने अवस्था छ’, तामाङले भन्नुभयो, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन । बाँदरको हेरचाह गर्नुभन्दा खेतबारी बाँझो छाडेर बस्ती छाड्ने बढेका छन् ।’ बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि  दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ ।

बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले बताउनुभयो । ‘बाँदरमा अटेरीपना बढेको छ । बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पनि नभाग्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘बाँदरकाे हुललाई बस्तीबाट धपाउनै मुस्किल छ ।  वर्ष दिन खाने अन्नबाली छिनभरमा उजाड पार्छ । यही अवस्था रहे किसानले खेती गरेर खाने अवस्था छैन ।’ प्रायजसाे किसानको मुख्य समस्यारूपमा रहेको बाँदर आतङ्क नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट