बंगलादेशको राजधानी ढाकाको बाहिरी भागमा रहेको गाजापुरीमा बुधवार भएको रेल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार विहान ४ बजे भएको दुर्घटनामा ८ जना घाइते भएको स्थानीय जोयदेवपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए।
उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा बोगी’ लिकबाट उछिट्टिएपछि एकजनाको घटनास्थलमै मृत्यु भएको हो। उक्त रेल दुर्घटनाका कारण राजधानी ढाकाबाट देशका अन्य भूभागमा समेत रेल सेवा घन्टौं अवरुद्ध भएको थियो।
विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन्। विपक्षी आन्दोलनले ढाकालगायत देशका विभिन्न शहरमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी–मजदुर झडप तथा सवारीसाधन तोडफोड र आगजनीका घटना भइरहेका छन्।
बंगलादेशको निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि त्यहाँको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले मंगलवार विहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ। विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम हो।