काठमाडौं ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् ।
२९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए ।
“हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । संघीयताको अभ्यासपश्चात देशमा स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन् । यी दुवै निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
२०७९ सालमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले ७५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ,” प्रधानमन्त्रीले भने, “स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्नेछु ।”