काठमाडौं ।।
प्रारम्भिक अध्ययनमा कैफियत देखिएका तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गरेको छ ।न्यायपरिषदको आइतबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनाएको हो । समितिले जिल्ला अदालतका तीन न्यायाधीशहरु अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।परिषदले यसअघि नै उनीहरुमाथिको उजुरीबारे प्रारम्भिक अध्ययन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्न जाँचबुझ समिति बनेको हो ।
‘आइतबार नै समिति गठन गर्ने निर्णय भएको हो, यसबारेमा विस्तृुत रुपमा राजपत्रमा प्रकाशित हुनेछ’, न्यायपरिषद स्रोतले भन्यो, ‘निर्णय र सूचनाको व्यहोरा मुद्रण विभागमा गइसकेको छ ।’ न्यायपरिषद ऐन, २०७३ (दफा १८) मा कुनै न्यायाधीशविरुद्ध उजुरी परे प्रारम्भिक छानबिन गर्नसक्ने व्यवस्था छ । दफा १८ अनुसार, प्रारम्भिक छानबिन समितिले न्यायाधीशमाथि थप जाँचबुझ गराउन आवश्यक देखेमा जाँचबुझ समिति गठन गराउनसक्ने व्यवस्था अनुसार समिति बनेको हो ।
न्यायपरिषदको सदस्य वा सर्वोच्च अदालतको न्यायाधीशको समितिले छानबिनमा परेका न्यायाधीशको स्पष्टीकरण लिनेदेखि उसलाई बर्खास्तको सिफारिस गर्नसक्छ । असार, २०७९ मा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश राजकुमार कोइरालाको अडियो टेप सार्वजनिक भएको थियो । उक्त कुराकानीमा कोइरालाले नेपाल बार एसोसिएसनका कोषाध्यक्षसमेत रहेका अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग मुद्दा मिलाउने विषयमा लेनदेनको कुराकानी गरेका थिए । त्यसयता उनी निलम्बनमा छन् ।
उनीमाथि प्रारम्भिक छानबिन गर्न न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा उच्च अदालतका न्यायाधीशहरु महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहेको समिति गठन भएको थियो । अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि अपहरण मुद्दामा पक्राउ परेर सजाय पाउनुपर्ने सोले कुरमा भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति रहेको ठहर गर्दै उन्मुक्ति दिएको र फैसलाका क्रममा न्यायका मान्य सिद्धान्त विपरीत काम गरेको आरोप छ ।
उनी राजधानीको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणको अभियोगमा थुनामा थिए । उनीमाथि पनि श्रेष्ठ नेतृत्वको समितिले नै प्रारम्भिक छानबिन गरेको थियो । न्यायाधीश परशुराम भट्टराईमाथि धनुषा जिल्ला अदालतमा रहँदा एक हत्याको घटनाका आरोपितलाई प्रमाणको प्रतिकुल हुने गरी सफाई दिएको आरोप छ । उनीमाथि पनि श्रेष्ठ नेतृत्वको समितिले प्रारम्भिक अध्ययन गरेको थियो ।‘प्रारम्भिक अध्ययनका क्रममा यी-यी न्यायाधीशको सवालमा कैफियत छ, थप जाँचबुझ हुनुपर्छ भनेर राय आएपछि त्यसका आधारमा जाँचबुझ समिति बनेको हो’, न्यायपरिषद स्रोतले भन्यो, ‘त्यसैका आधारमा अहिले न्यायाधीश डा. भट्टराईको नेतृत्वमा समिति बनेको हो ।’