विराटनगर ।।
कोसी प्रदेशका सांसदले जनसरोकारका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बुधबारको बैठमा शून्य समयमा बोल्ने विभिन्न दलका सांसदले विविध विषय उठान गरेका हुन् । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले स्थानीय तहका कर्मचारीका लागि प्रदेश सरकारले गर्ने धेरै तालिम तथा अभिमुखीकरण विराटनगर केन्द्रित गरिँदा पहाडी तथा हिमाली जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या हुने गरेको बताए ।
“पहाडी भेगका क्षेत्रका कर्मचारीलाई आउजाउमा सहज हुने स्थानमा अभिमुखीकरण गरिनुपर्छ । ओखलढुंगामा उच्च न्यायालयको बेन्च र उच्च सरकारी वकिल कार्यालयको बेन्च पनि छ । यसैगरी डिभिजन कार्यालय पनि छन्, त्यसैले त्यहाँबाट सेवा दिन ढिलाइ गरिनुहुन्न,” उनले भने ।सांसद शेर्पाले धेरै सांसद बाहिर हाजिर गर्ने तर बैठकमा नबस्ने समस्याप्रति सभामुखबाट रुलिङ गर्नुपर्ने माग राखे । एमालेका सांसद तिलचन्द पाठकले सभाको गरिमा घट्दो अवस्था पुगेको भन्दै मुख्यमन्त्रीलाई चिन्नै गाह्रो भएको बताए ।
“मुख्यमन्त्री र सांसद सदनमा उपस्थित नहुने क्रम चिन्ताको विषय हो,” उनले भने । उनले गोरखापत्रबाट गलत सूचना प्रवाह भएको भन्दै यस्ता समाचार लेख्ने पत्रकारलाई कारबाहीको दायरमा ल्याउन माग गरे । कांग्रेस सांसद मैया श्रेष्ठले झापाको लखनपुरमा संघीय सरकारको २५ करोड लागतमा बनेको आयुर्वेद अस्पताल डेढ वर्षदेखि सञ्चालन भए पनि सेवा दिन नसकेको बताइन् । “एक्सरे नभएर सेवा सञ्चालन छैन । १९ जना जनशक्ति छन् । तीन विशेषज्ञ चिकित्सक छन् । २८ जना दरबन्दी माग गरेको छ । यो लथालिङ्ग अवस्थालाई किन प्रदेश सरकारले समाधान गर्न चासो नदिएको ?,” उनले भनिन् ।