November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बर्थिङ सेन्टर : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १0:३१
बर्थिङ सेन्टर : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ।

प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ। भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन्। उनले भनिन् ‘वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ। जस्तापाता तातिएर उखुम हुन्छ। नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ।’ स्वास्थ्यकर्मीले गर्भवती र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने अवस्था छ।

‘सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन’, उनले भनिन्, ‘प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ। गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ। हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ।’ अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुनसकेको छैन।

विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ। वर्र्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ। ‘प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो। यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो। यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ’, उनले भनिन्, ‘वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ।’

गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरे। ‘प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ। कोठामा छिर्ने ढोका नै साँघुरो छ। नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ। सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ। चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेवर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ। दुईजना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ’, उनले भने, ‘नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ। कुनै निकास छैन। फोहर पानी टेकेर भित्र पस्नुपर्छ। साह्रै सास्ती छ। सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका छौँ, तर कुनै सुधार हुँदैन।’

एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ। प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन। पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ। स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन्। सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ। प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन। कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ।

नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साहसुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए। उनले भने, ‘प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ। नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो।’ सभापति साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ। साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबिबीएस’ चिकित्सक छैनन्।

हालैस्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्टा«साउण्ड मेसिन’ प्रदान गरेको थियो। त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ। सि अनमी निरीक्षक शाक्यले निन्, ‘मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ। कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु। अहिलेसम्म कुनै वास्ता गरिएको छैन।’

स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो। सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ। तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन। ‘२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ’, उनको भनाइ थियो।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ। तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन्।

विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ। महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ। तत्कालीन समयमा यस प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय समाजसेवी रामजी यादवले भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए। उनले भने, ‘तीस वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ, आज पनि त्यस्तै अवस्थामा रहेछ। कुनै सुधार भएको रहेनछ। प्रसूतिगृहको यो अवस्था देखेर मनमा असाध्यै पीडावोध हुन्छ।’

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्