सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ ।
साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० बमोजिम साइबर स्पेसको सुरक्षा र साइबर सुरक्षाका घटनाहरुको अनुगमन, पूर्वतयारी, रोकथाम, पहिचान र प्रतिकार्य सम्बन्धी काम प्रभावकारी रूपमा सम्पादन गर्न केन्द्र स्थापना गर्न लागिएको बताएका छन ।
उनका अनुसार साइबर सुरक्षा केन्द्रलाई सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका विविध सेवाका प्राविधिक सहसचिवले हेर्नेछन् । तर, केन्द्रको कार्यालयको नेतृत्व विविध सेवाकै उपसचिवले गर्नेछन् ।