एजेन्सी । सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज भएको मतदानको मतगणना असार ४ गते हुनेछ ।
भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय आम निर्वाचनमा २५०० भन्दा बढी राजनीतिक दल सहभागी हुनेछन् ।
सयौँ दलले चुनावमा उम्मेदवार उठाए पनि शीर्ष १० दलले मात्रै हाल लोकसभामा ८६ प्रतिशत सिट ओगटेका छन् । विगतमा जस्तै यसपटक पनि अधिकांश निर्वाचन क्षेत्रमा आधा दर्जनजति दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । यसपटकको लोकसभा सिटका अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने मुख्य दल मैदानमा छन् ।
पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ ।
निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।