काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।
तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाएका हुन् ।
कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए । मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।
यसैबीच प्रमुख तीन दलका शीर्ष नेताहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरूका लागि मात्र खुशीकाे विषय नभएको भन्दै यो विधेयकलाई संसद्को यही अधिवेशनमा पेश गरेर पास गर्नसमेत आग्रह गरेका हुन।