काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि चार मुद्दा दायर भएको छ । काठमाडौं प्रहरीको अनुसन्धानका आधारमा उनीविरुद्ध ठगी, लिखत कीर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर भएको हो ।
झा यो प्रकरणमा उच्च तहका व्यक्ति मानिन्छन् । उनीमार्फत कांग्रेसका अन्य उच्च तहका व्यक्ति तानिने समेत आशका गरिएको थियो । तर, सामान्य अनुसन्धान गरेर मुद्दा दायर गरिएको छ । उनले भुटानी शरणार्थीसम्बन्धि विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराइदिने भन्दै २ करोड लिएको बयान रामशरण केसीले दिएका थिए । त्यसको अडियो समेत उनले प्रहरीलाई बुझाएका छन् ।
झासँगै पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा भने यसअघि नै जेल चलान भइसकेका छन् ।