प्रेम सम्बन्ध रहेको जोडीले आपसी सहमतिमा करणी गर्छन् भने नाबालिका भए पनि त्यसलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ ।
अदालतको यो आदेशसँगै १० वर्ष सजाय हुने भनेर एक ब्यक्त्तिलाई गरिएको फैसला पनि बदर भएको छ । उच्च अदालत विराटनगर अन्तरगत रहेको इलाम इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका १ स्थायी घर भई झापाको बिर्तामोड नगरपालिका १ टायमलेस होटलमा काम गरिरहेका २१ वर्षीय अधिकारी विरुद्धको जाहेरीमा नेपाल सरकार बादी रहेको मुद्दामा केहि दिन अघि यस्तो आदेश दिएको हो ।
वारदात भएको बेला केटाको उमेर १८ वर्ष र केटीको १७ वर्ष थियो । हाल केटाको उमेर २१ र केटीको २० वर्ष छ । त्यसबेला उनीहरु दुवै प्रेममा रहेको र केटीले सहमतिमा सेक्स सम्बन्ध रहेको बयान दिएकी थिइन् । त्यसैले उनीहरु बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी सजाय दिनु न्यायको हिसाबले उपयुक्त नदखिएको फैसलामा भनिएको छ । प्रतिवादीलाई अभियोग दावी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानून सम्मत नदेखिएको फैसलामा उल्लेख छ ।