प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको लोकतान्त्रिक गणतन्त्रको विरोध गर्नेहरुलाई मूर्खहरुको डफ्फाको संज्ञा दिएका छन् । आज (बुधबार) राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब नेपालमा राजतन्त्र कहिल्यैपनि फर्कन नसक्ने ठोकुवा पनि गरे ।
मुलुकले अब तानाशाही राजतन्त्र व्यहोर्न नसक्ने उनको भनाई छ । उनले मुलुक गणतन्त्रमा आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जेमा पनि नकारात्मकता देख्ने गरेको टिप्पणी गरे । उनले राजा बन्न चाहनेहरु सपनामा मात्रै राजा बन्ने भन्दै अब विपनामा राजा बन्न सम्भव नभएको पनि दाबी गरे ।