सरकारसँग सम्झौता गरेपश्चात विद्यालयका शिक्षक र कर्मचारी विभाजित बनेका छन् । हिजो बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएसँगै अधिकांश शिक्षकहरू घर फर्किए तर विद्यालय कर्मचारीहरू भने आक्रोशित भएका छन्। उनीहरू घर नफर्किने अडानमा छन्। नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्ने नहुने भन्दै आफुहरुले पनि नै आन्दोलन गर्ने बताएको छ।
सम्झौताको विषयमा जानकारी गराउन आज मध्यबानेश्वरको रत्नराज्य स्कूलमा आयोजित भेलामा दुई पक्षबीच लफडा भयो । कर्मचारीहरू शिक्षक नेताहरूले धोका दिएको भन्दै उनीहरूमाथि खनिएका थिए । सरकारले विधेयक ल्याउने भनेर अल्मल्याउन मात्र खोजेको उनीहरूको दाबी छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बोल्दै गर्दा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूका कुरा राख्न पाउनुपर्ने बताएका थिए । सोक्रममा उनलाई हलबाट निकालेपछि केहीबेर वादविवाद भयो ।
बैठकपछि पत्रकारसँग बोल्दै तिवारीले शिक्षक नेतृत्वले कर्मचारी हितविपरीत सम्झौता गरेको बताए । आफूहरूले आन्दोलन जारी राख्ने उनको भनाइ थियो ।