अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा पर्दामा देखिने भएका छन् । आगामी जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ उनी एक्सनमा देखिन लागेका हुन् ।
नेपाली फिल्म क्षेत्रमा गत वर्षबाट एक्सनले फेरि दर्शकको ध्यान खिच्न सफल भयो । अब सफल एक्सन फिल्मको लहरमा ‘नरसिंहाः अवतार’ पनि पर्ने निर्माण पक्षको विश्वास छ ।
राज तयारी गरेरै एक्सन देखिन लागेको बताउँछन् । यसका लागि उनले शरीरलाई सुगठित समेत बनाएका छन् भने मिक्स्ड मार्सल आर्टको पर्याप्त तालिम पनि लिएका थिए ।
राजले करिअरको बिचमा हार जस्तै मानेका थिए । गरेको कामले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए । तर, चलचित्र विकास बोर्डको सदस्य बनेपछि, फिल्मीकर्मीहरुबाट पटक–पटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि परीक्षामा उभ्याउने निर्णय गरे । दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’ आफ्नो करिअरका लागि स्मरणीय र कोशेढुंगा साबित हुने विश्वास उनको छ ।