काठमाडौं ।। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकका गुनासाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
गृहमन्त्रालयबाट प्रजिअको जिम्मेवारी सम्हाल्न झापा आउनु भएको उहाँले आज आफ्नै कार्यालयमा पत्रकारहरुसँग अन्तरक्रियात्मक भेटघाट गर्नुभयो ।
‘आम नागरिकका गुनासोलाई सम्बोधन गर्नेछु,’ उहाँले भन्नुभयो–‘गुड गभर्नेन्स हाम्रो प्राथमिकता हो ।’
पत्रकारहरुका लागि सूचना प्रवाहलाई अझ सहज बनाउने र सञ्चारमाध्यमहरुमा आएका जानकारीलाई आधारमा मानेर समस्या समाधानका लागि अग्रसर हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि झापामा प्रजिअ रहनु भएको छविराज रिजाल तनहुँ जिल्ला प्रशासन कार्यालयमा सोही पदमा सरुवा हुनुभएको छ ।