धनगढी । तीन दिन अघि मृत्यु भएका नवजात शिशुसहित सुत्केरी महिलाको शव कैलालीको मालाखेती अस्पतालबाट उठाईएको छैन। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझेका छैनन्।
उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरिरहेका छन्। मृतकका आफन्तले आफुहरुको माग अस्पताल प्रशासन र स्थानिय सरकारले वेवास्ता गरेको भन्दै अहिले गोदावरी नगरपलिका घेराउ गरेका छन्।
स्थानीयहरुले नगरपालिका भित्र बसेर धर्ना दिईरहेका छन्।
मृतकका आफ्न्त यज्ञराज भाटले स्थानिय सरकारले अहिलेसम्म आफूहरुको माग सम्बोधन नगरेकाले नगरपालिकामा धर्ना दिएको बताए। उनले केश लम्ब्याउने कुरा मात्रै भईरहेकाले चाँडो माग पूरा गर्नका लागि नगरपालिकामा दवाब दिन धर्ना बसेको बताए।
अहिले सम्म सम्बन्धित निकायबाट कुनै पनि पहल नभएको बताउदै उल्टै मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको बताए। ‘मृतकका श्रीमान नेपाल प्रहरीको जागीरे हुन, उनलाई अपहरण शैलीमा लगेर भित्र राखिन्छ’ उनले भने ‘जबरजस्ती सहमतीमा सहिछाप गर, तेरो लास बुझ भन्ने किसीमले दवाव दिईदैछ।’
उनले मृतकको बच्चाको भविष्यको ग्यारेन्टी पनि गर्नुपर्ने बताए। उनका अनुसार छानविन समितिले बुधबार सम्ममा निर्णय पेश गर्ने भनेको भएपनि अन्तिममा आएर एक हप्ता लाग्छ भन्न थालेको बताए।
सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो। उनीहरुको शव तीन दिनदेखि अस्पतालमा छ। मृतकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै सोमबार र मंगलवार राजमार्ग अबरुद्ध गर्दै आन्दोलन गरेका थिए।