काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् ।
आज दिउँसो १ बजे उनले शपथ लिने कार्यक्रम तय छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कार्यालयमा उनले शपथ लिनेछन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् ।
गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानका लागि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट जसपाकै अध्यक्ष यादव विजयी भएका हुन् ।