जापान सरकारले यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि निकै आकर्षक प्रस्ताव अघि सार्यो । जस अनुसार यदि त्यहाँका मानिसहरु सहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रति सन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइनेछ ।
यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ । यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै सहर फर्किएमा उनीहरुले त्यसरी लिएको १० लाख येन पूरै फिर्ता गर्नुपर्नेछ ।
जापानमा जनसंख्याको अधिकांश हिस्सा सहरमा बस्दछ र पछिल्ला केही वर्षदेखि त्यहाँ सम्पत्तिको क्षेत्रमा मन्दी छाएको छ । फलतः जापानमा लाखौं घरहरु खाली भइरहेका छन् । जापानमा घर सम्पत्तिको समस्या समाधान गर्नका लागि केन्द्र तथा प्रान्तीय सरकारहरुले यस्ता विभिन्न खाले कदमहरु उठाइरहेका छन् ।
खाली घर
आयुमी सुगिमोटो जापानको अकिता विश्वविद्यालयमा ग्रामीण जनजीवनका बारेमा पढाउँछिन् । उनी अकितो प्रान्तमा बस्दछिन् जहाँ मान्छे बस्न छाडेका घरहरुको संख्या अन्यत्रको तुलनामा अधिक छ र खाली घरहरुको संख्या लगातार बढिरहेको छ । आयुमी सुगिमोटोका अनुसार यस्ता खाली छाडिएका घरहरुलाई जापानी भाषामा अकिया भनिन्छ ।
उनी भन्छिन्म- जब कार्यालय गइरहेकी हुन्छु प्रायः यस्ता धेरै अकियाहरु बाटोमा देखिन्छन् । अकियाहरु चिन्न निकै सजिलो छ, किनकि ती घरहरुको झ्यालको काँच तथा ढोकाहरु प्रायः फुटेका हुन्छन् र हालत पनि खराब हुन्छ । सन् २०१८ को तथ्यांक अनुसार जापानमा १३ प्रतिशत अकिया भवन छन् र यस्ता खाली भवनहरु केवल सहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि रहेका छन् ।
सरकारी तथ्यांक अनुसार जापानमा यस्ता खाली भएका भवनहरुको संख्या ८० लाखभन्दा धेरै छ तर वास्तविक संख्या भने योभन्दा धेरै रहेको आम मानिसको भनाइछ । वास्तवमा खाली छाडिएका घरहरुका पछाडि आर्थिक कारण रहेको छ ।
सुगिमोटो भन्छिन्- जुन जमिनमा घर बनेका हुन्छन् त्यसमा करमा सहुलियत मिल्छ । त्यसैले घरधनीहरु घर भत्काएर जमिन खाली गराउन चाहँदैनन् । कर बढी तिर्नु नपरोस् भन्नकै लागि घर भत्काउनुको साटो खाली छाडिदिनु घरधनीका लागि फाइदाजनक हुन्छ ।
यसको अर्को कारण पनि छ । यस्ता धेरै भवनहरु वर्षौं पुराना हुन्छन् र त्यहाँ बस्नेहरुका सम्झना त्यससँग जोडिएका हुन्छन् । त्यसैले उनीहरुले त्यस्ता घर नभत्काइकन राख्दछन् । यसका साथै यो धार्मिक आस्थाको मुद्दा पनि हो ।
सुगिमोटो भन्छिन्, ‘यी घरहरुमा मानिसहरुले आफ्ना पुर्खाका सरसामानहरु सजाएर राखेका हुन्छन् जसलाई उनीहरु आफ्ना पुर्खाको बौद्ध अवतार पनि भन्दछन् । साथै पुर्खाहरुको आत्मा अकियामा बस्ने मान्यता पनि रहेको छ ।’
अकियाको संख्या बढ्नुमा ग्रामीण क्षेत्रमा रोजगारीको कमी समेत एउटा प्रमुख कारण रहेको उनी बताउँछिन् । ग्रामीण क्षेत्रमा रोजगार तथा उच्च शिक्षाको पर्याप्त अवसर छैन । त्यसैले युवापुस्ता टोक्यो तथा ओसाका जस्ता ठूला सहरतर्फ आकर्षिक भैरहेका छन् ।
सुगिमोटोका अनुसार अकिया घरहरुमा जंगली जनावरहरु समेत बस्ने गरेका छन् । कहिलेकाहीँ भारी हिमपात तथा आँधीका बेला मक्किएका ती काठे घरहरु छिमेकीको घरमाथि ढल्ने घटना पनि हुने गरेको पाइन्छ । यस्ता खाली घरहरु भत्काएर जमिन खाली गराउनका लागि सरकारले सम्बन्धित घरधनीसँग अनुमति लिनुपर्दछ । जुन निकै मुस्किल काम हो, किनकि घरधनीहरु आफ्नो नयाँ ठेगाना जानकारी नगराइकन पुरानो घर छाडेका हुन्छन् ।
कतिपय ठाउँमा प्रशासनले यी खाली घरहरुमा क्याफे, पर्यटक आवास तथा पसलहरुमा परिणत गर्ने काम पनि गरेको छ । तर त्यस्तो कदमले पनि समस्या समाधान भएको छैन । सुगिमोटो भन्छिन्मा-निसहरुलाई जति घर आवश्यक छ, अकियाको संख्या त्यसभन्दा पनि धेरै छ । कतिपय भवनहरु त यतिधेरै पुरानो भैसकेका छन् कि त्यसको मर्मत वा जिर्णोद्धार गर्न पनि कठिन छ ।
आम जनताको समस्या
जापानको सम्पत्ति समस्याको सम्बन्ध त्यहाँको जनसंख्यासँग पनि छ । बेलायतको ब्रिस्टल विश्वविद्यालयमा सामाजिक नीतशिास्त्रका प्राध्यापक मिसा इजुहाराका अनुसार सन् १९७० देखि जापानले बढ्दो बुढ्यौली जनसंख्याको समस्या झेलिरहेको छ । जापानको कुल जनसंख्याको ३० प्रतिशत मानिसको उमेर ६५ वर्षभन्दा धेरै छ । जापानको स्वस्थ जीवनशैली तथा उत्कृष्ट स्वास्थ्य सेवाको कारण मानिसहरुको औसत आयु ८० वर्षभन्दा धेरै छ । तर जन्मदर भने कम छ ।
उनी भन्छिन्, ‘जापानमा महिलाहरुको प्रजननदर केवल १.३ प्रतिशत रहेको छ । सन् २०१० मा जापानको जनसंख्या करिब १३ करोड थियो भने त्यसयता जनसंख्यामा लगातार गिरावट आइरहेको छ । त्यहाँको जनसंख्या वार्षिक ३२ प्रतिशतले घट्ने र सन् २०६० सम्ममा ८ करोडमा झर्नेछ ।’ यही वर्ष जापानी प्रधानमन्त्रीले संसदमा अपिल गर्दै जनसंख्याको उक्त समस्याको शीघ्र रुपमा समाधान निकाल्नु आवश्यक रहेको भन्दै अन्यथा जापानको समाजका लागि गम्भीर चुनौती खडा हुने बताएका थिए ।
जन्मदर घट्नुसँग खाली भैरहेका घरको समस्याको के सम्बन्ध छ ?
इजुहारा भन्छिन् – पहिले तिनपुस्ता सम्म संयुक्त परिवारमा एकसाथ बस्दथे, जसका कारण घरको विरासत सजिलैसँगै नयाँ पुस्तामा सुम्पिइन्थ्यो र घरको पनि हेरचाह हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि आर्थिक पुनरुत्थानको क्रममा मानिसहरुले सहर गएर बस्न सुरु गरे र उही नै आफ्नो घर बनाए । जसका कारण दुवै पुस्ता विस्तारै छुट्टाछुट्टै बस्न थाले । संयुक्त परिवार छाडेर सहरमा बस्दा परिवारको स्रोतसाधन कम भयो र पुरानो पुस्तौनी घरको हेरचाहलाई बेवास्ता गरियो ।
इजुहाराका अनुसार अहिले परिवारको आकार सानो भैरहेको छ । उदाहरणको रुपमा ७० को दशकमा आधा परिवार यस्ता थिए जोसँग आफ्ना बच्चा थिए । अनि १४ प्रतिशत संयुक्त परिवार थिए जसमा तीन पुस्ता एकसाथ बस्दथे । अहिले पनि कुल परिवारमा ३८ प्रतिशत यस्ता परिवार छन् जसमा केवल एक वा दुई मानिस मात्रै सँगै बस्दछन् । यी मानिसहरुको पनि मृत्यु भएपछि वा घर छाडेर अन्यत्र गएपछि ती घर खाली हुन्छन् अर्थात् अकिया बन्दछन् ।
परिवर्तनको आवश्यकता
जापानमा आम मानिसहरु नयाँ घर खरिद गर्न मन पराउँछन् र भवनहरु पुराना हुँदै गएपछि मूल्य पनि खस्कँदै जान्छ । पेन्सिल्भेनिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक जिरो योशिडाका अनुसार खाली भएका घरहरुको समस्या युरोप तथा अमेरिकामा पनि छ । अमेरिकामा १३ प्रतिशत भवन खाली छन् ।
उनी भन्छन्- यो समस्या समाधान गर्न सजिलो छ छैन तर केही कदम भने उठाउन सकिन्छ । जस्तो कि सम्पत्ति करको नियममा परिवर्तन गर्नु । जस्तो कि जापानमा हाल जुन जमिनमा भवन बनेको हुन्छ त्यस्तो जमिनको कर कम लाग्दछ । विरासत करको दरमा परिवर्तन गरी त्यसलाई अन्य आय बराबर गराउन सकिन्छ ।
कोरोना महामारीका बेला घरबाटै काम गर्ने चलन विश्वभर नै बढेको थियो । के यो पनि मानिसहरुलाई घरमा रोक्ने एउटा उपाय हुनसक्छ ?
योशिडा भन्छन्, ‘रोजगारका अधिकांस अवसर टोकियोजस्ता ठूलो सहरमा हुन्छ खासरुपमा सेवा क्षेत्रमा । कतिपय युवा ग्रामीण क्षेत्रका आफ्नै घरमा बस्न रुचाउँछन् तरपनि त्यहाँ उनीहरुका लागि जागिरको अवसर हुँदैन । जसका कारण उनीहरु घर छाडेर ठूला सहरमा जानुपर्दछ । यदि घरबाटै काम गर्ने सुविधा दिइयो भने ग्रामीण क्षेत्रमा बसेर पनि सहरको कुनै कम्पनीका लागि काम गर्न सक्नेछन् । यसले घर खाली हुने समस्या धेरै हदसम्म समाधान हुनेछ ।’
साथै स-साना नयाँ कम्पनीहरुले तिनै खाली घरहरुको मर्मत गरेर आफ्नो कार्यालय त्यही नै स्थापना गर्ने हो भने पनि खाली घरहरुको समस्या केही हदसम्म कम हुने योशिडा बताउँछन् ।
यो समस्याको अर्को पहलु पनि छ । जापनका कैयन् उद्योगहरुमा श्रमिकको अभावको समस्या सुरु भएको छ र भवन निर्माण उद्योग पनि यसबाट अछुतो छैन । यो समस्याका कारण भविष्यमा नयाँ भवनको कमी पनि हुनसक्छ ।
उनी भन्छन-वन निर्माण उद्योगमा खासगरी अधबैँशे उमेरका मानिसहरुले काम गर्दछन् र निकट भविष्यमा उनीहरुमध्ये धेरै मानिसहरु रिटायर्ड हुनेछन् र निर्माण उद्योगले अहिलेकै स्तरमा भवन बनाउने कामलाई जारी राख्न सक्नेछैन ।
घट्दो जनसंख्याको कारणबाट नयाँ भवनहरुको माग पनि घट्नेछ । यस प्रकार खाली भएका घरहरुको समस्या स्वभाविक तरिकाबाट नै समाधान हुनेछ ।