बेइजिङ ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए।
प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै यहाँ (चीन) आइपुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड चीनमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका छन्। त्यसैगरी हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन्। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन्। महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ।