काठमाडौं । दसैंको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुलेका छन् ।
घटस्थापनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आएका हुन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको चहलपहल भने कम छ । यस्तै कर्मचारीहरुको उपस्थिति पनि कम देखिएको छ ।
दसैंपछिको पहिलो दिन भएकाले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति कम भएको हो । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्रका मन्त्रालय र कार्यालयमा पनि खासै चहलपहल छैन ।
भोलि (शनिबार) सार्वजनिक बिदा परेकाले अधिकांश कर्मचारीले शुक्रबार व्यक्तिगत बिदाबाट काटिने गरी घरबिदाको निवेदन भरेका छन् ।
आजदेखि सरकारी कार्यालय सञ्चालन हुने भएसँगै दसैं बिदामा घर गएकाहरु कार्यस्थल फर्किएका छन् । राजधानीमा कार्यस्थल फर्किनेको संख्या बढेको छ ।