इटहरी ।।
इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोगको निम्ति याचना गरेका छन् । दुवै मिर्गौला काम नलाग्ने भएपछि उनले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति अनुरोध गरेका हुन् । पछिल्लो २९ वर्षदेखि इटहरीमा सक्रिय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आफनो दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । थप उपचारको निम्ति आर्थिक हैसियत नभएकाले सहयोगको निम्ति अनुरोध गर्न बाध्य भएको उनको भनाई छ । उनले थप उपचारको निम्ति पत्रकार महासंघ र महासंघका प्रदेश समितिलाई अनुरोध गरिसकेका छन् । उनी उच्च रक्तचाप र मधुमेहकासमेत बिरामी हुन् ।
लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवन गरेका कारण मिर्गौला खराब भएको हुनसक्ने उनको भनाई छ । ४८ वर्षे दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । विगतमा ईटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । संकटकालको समयमा तीन महिना प्रहरी हिरासतमा परेका उनलाई ३३५ दिन नजरबन्दमा राखिएको थियो । दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजकको जिम्मेवारीमा छन् । उनी नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य पनि हुन । सम्पत्तिको नाममा इटहरीमा एउटा सानो घर रहेका उनका श्रीमती र एक छोरा छन् । श्रीमती चिया नास्ता पसल सञ्चालन गर्छिन् ।