काठमाण्डाै ।।
खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताउनुभएको छ । काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गर्नुभएको हो । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डाैवासीलाई पानी खुवाउँछौँ ।’ काठमाण्डाैवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीकाे व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाण्डाै ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीकाे पानी एक हप्ताभित्र काठमाण्डाै आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनुभयो । उहाँका अनुसार ११ करोड ५० लाख ६६ हजार रुपैयाँ हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाण्डाै ल्याउने कुरामा हेलम्बुवासीले अवरोध नगरेको स्पष्ट पार्नुभएको छ । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ याे कुरा बताउनुभएकाे हाे । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौताअनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिनुभयो ।