सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ । बोलीचालीको भाषामा सामान्य रक्तचापमा माथि १२० र तल ८० हुनुपर्छ । यसको एकाई मिलिमिटर मर्करी हो । रक्तचापलाई ब्लड प्रेसर मेनोमिटरले मापन गरिन्छ । माथिल्लो रक्तचापलाई मेडिकल भाषामा सिस्टोलिक र तल्लो रक्तचापलाई दायस्टोलिक भनिन्छ ।
यदि सिस्टोलिक ब्लडप्रेसर ९० वा त्यो भन्दा तल र डायस्टोलिक ६० वा त्यो भन्दा कम भएको अवस्थालाई न्युन रक्तचाप भनिन्छ । यद्यपि रक्तचाप सिस्टोलिक ९० र डायस्टोलिक ६० भएपनि स्वास्थ्यमा कुनै समस्या छैन भने यसलाई सामान्य मान्नुपर्छ । किनभने व्यक्तिको शरीर अनुसार पनि यो फरक पर्नसक्छ ।
न्यून रक्तचापको समस्या महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ । यद्यपि तुलनात्मक रुपमा यो समस्या महिलामा बढी देखिन्छ । यसको कारण महिला हर्मोन हो । अर्थात् महिलामा अधिकतर हुने ईस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनले रगतको नसालाई खुकुलो बनाउँछ । यही कारण रक्तचाप न्यून हुनपुग्छ । त्यस बाहेक अन्य कारणले पनि रक्तचाप न्यून हुन्छ ।
१. शरीरमा पानीको मात्रा अपुग भएमा रक्तचाप न्युन हुनसक्छ ।
२. औषधिको सेवन (खासगरी उच्च रक्तचाप, मुटुरोग, पार्किन्सन्स, डिप्रेसन) बाट पनि बेलाबखत रक्तचाप न्यून हुनसक्छ ।
३. चोटपटकको कारण धेरै रगत बगेमा, मुटुको भल्भमा समस्या भएमा, हृदयघातको समस्या भएमा न्यून रक्तचाप हुनसक्छ ।
४. कतिपयलाई पोषणको कमीले रक्तचाप घटेको हुनसक्छ । शरीरमा भिटामिन बि–१२ र आइरनको कमी भयो भने रक्तअल्पता हुनसक्छ । जसले गर्दा शरीरमा पर्याप्त रातो रक्त कोषिका बन्दैन । र, न्युन रक्तचाप हुनसक्छ ।
५. गर्भावस्थाका बेला महिलामा मुटुको चालमा तिब्रता आउँछ । यसले पनि रक्तचाप घट्न सक्छ । तर, गर्भावस्थाको बेलाको लागि यो सामान्य हो । बच्चा जन्मिएपछि फेरी पूर्ववत् अवस्थामा आउँछ । यदि बच्चा जन्मिएपछि पनि सो स्थिती कायम रहिरह्यो भने चाहिँ परीक्षण गर्नुपर्छ ।
६. थाइरोइड, मधुमेह जस्ता समस्याले पनि रक्तचाप न्यून हुनसक्छ ।
७. डेंगु, मलेरिया, झाडापखाला जस्ता कारणले पनि बेलाबखत रक्तचाप न्यून हुनसक्छ ।
यसर्थ तनाव, चिन्ता, डिप्रेसन, रक्तश्राव, र गर्भवती हुँदा धेरैजसो महिलाहरुको रक्तचाप न्यून हुन्छ ।
न्यून रक्तचाप हुँदा अत्याधिक थकान महसुस हुन्छ, चक्कर लाग्छ । आँखा धमिलो हुनु, मन बेचैन हुनु, छाला चिसो हुनु, धेरै तिर्खा लाग्नु पनि यसको लक्षण हुनसक्छ ।
पर्याप्त पानी पिउने । समयमा सुत्ने । नियमित र थोरै समयको अन्तरालमा केही न केही खाने । नुनिलो खानेकुरा खाने । तनाव व्यवस्थापन गर्ने । यदि अन्य समस्या भएमा चिकित्सकलाई देखाउने ।
उच्च रक्तचापका लागि जस्तै न्युन रक्तचाप बढाउने औषधि खास औषधि भने छैन । बरु के कारणले रक्तचाप कम भएको हो त्यो पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । नुनपानी, गेडागुडीको झोल र नुनिलो खानेकुराको मात्रा बढाउन सकिन्छ । यसले रगतमा पानीको मात्रा बढाउन सहयोग गर्छ । प्रेसर नियन्त्रणमा आउन मद्दत गर्छ । कहिलेकाहीँ रक्तचाप बढाउनलाई एकैचोटी धेरै खाँदा ह्वात्तै प्रेसर बढ्न सक्छ । त्यसैले रक्तचाप कम भएका व्यक्तिले कम्तिमा दिनको दुईचोटी (बिहान र बेलुका) रक्तचाप जाँच गर्नुपर्छ ।
एक्कासी रक्तचाप घटेमा सकेसम्म बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्यचौकी वा अस्पताल लानुपर्छ । अस्पताल टाढा भएमा र बिरामी अचेत भएमा नुनपानी खुवाउँदै पटकपटक ब्लड प्रेसर नाप्नुपर्ने हुन्छ । तर बिरामी बेहोस भएको अवस्थामा केही पनि खुवाउनु हुँदैन । अचेत अवस्थामा बल गरेर ख्वाउँदा सर्केर छाति सम्बन्धी गम्भीर समस्या निम्तिन सक्छ ।
न्यून रक्तचाप हुँदा चक्कर आएर जहाँ पनि ढल्न सक्छ । समयमा उपचार भएन भने मृत्यु समेत हुनसक्छ । त्यस्तै गर्भावस्थामा रक्तचाप कम भएमा गर्भको भ्रुणको मृत्यु हुनसक्छ । मनोभ्रम (कन्फ्युजन) मस्तिष्काघात, मृगौला रोग आदि लाग्न सक्छ ।
न्युन रक्तचाप हुँदा उच्च रक्तचापमा जस्तो कुनै किसिमको खाना बार्नु पर्दैन । यसबेला नुनिलो खानेकुरा अलि बढी खान सकिन्छ । किनभने नुनिलो खानेकुराले प्यास बढाई रक्तचाप बढाउन मद्दत गर्छ । तर कहिलेकाँही नुन बढि खाँदा शरीरमा रक्तचाप बढ्न सक्छ । तर जंङ्क फुड, धुम्रपान, मद्यपान गर्नुहुँदैन ।