काठमाडौं । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ ।
समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।
सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।
विज्ञहरु प्रा.डा.चन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गरेका थिए ।
मूल्यांकनपछि उम्मेदवारको सोँचपत्र र व्यावसायिक कार्ययोजनाका प्रस्तुतिकरण मूल्यांकनको क्रममा भने समितिले फरक फरक विज्ञको सहयोग लिएको थियो । त्यसपछि सिफारिस समितिले उनीहरुको मूल्यांकनको आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन् ।