प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ ।
नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख छ ।
सिंहदरबारमा जारी बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई उक्त अभियोगपत्र वितरण गरेका हुन् । उक्त अभियोगपत्रमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । तर, लामिछानेले आफूले कुनै ऋण नलिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत क्लिन चिट समेत लिएको खुलासा भएको थियो । लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले निरन्तर रुपमा उनीमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।
रुपन्देही प्रतिवेदनका सम्बन्धमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनको विवरणका आधारमा नाम उल्लेख भएकामाथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्क गरेका छन् । सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्कसहित संसदमा आफ्ना विषय राख्न कांग्रेस सांसदहरुलाई प्रशिक्षित गरिएको छ ।