काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ती मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।