बुवालाइ सम्झिदा : युवराज धौराली
बुबा शब्द आफैमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । बुबा घरको जग हो, परिवारको उज्ज्यालो हो । संसारको आठौँ आश्चर्य बुबा हो , जसलाई दिन मात्र आउछ , सन्तानबाट कहिल्यै लिन आउदैन । मेरो बुबा भन्ने गर्नुहुन्छ – जीन्दगि जिउनको लागि दुई तरिका सधैँ अपनाउनु । जे भइराख्या छ हुन देउ , सहदै जाउ । आफ्नो जिम्मेवारी आँफै उठाउ, आत्मबल दह्रो बनाउ, ती सबै उल्झनबाट आफु उत्रिनको लागि ।
मेरो बुवा बिष्णु प्रसाद धौरालीले छाडेर जानू भएको नि आज ५८ दिन भयो । बुवानै सन्तानको सुरक्षा कवच हो । बुबा सहारा हो , बुवा सन्तानको पहिलो मार्गदर्शन हो । मेरो बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बुवा नै मेरो परिवार हो । मेरो बुवा नै मेरो घरको जग हो । बुबा नै आमाको अभिमान हो, स्वाभिमान हो । बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने, बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी ।
सानो हुँदा मलाई हात समाउँदै डुलाउनु हुन्थ्यो । केहि पुराना याद कल्पिन मन लाग्यो । म फतक्कौ गल्दा हजुर मलाई आफ्नो काधमै बोक्नुहुन्थ्यो, आँफुले नदेखेका कुराहरु पनि मलाई देख्यौ ? देख्यौ ? भन्दै सोध्नु हुन्थ्यो । त्यति बेला मलाई लाग्थ्यो , मेरो बुवा त मलाई कति माथीसम्म उचाल्न सक्नुहुन्छ , मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला । बुबाले दिनरात नभनी घर माथी परिवार माथी नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नुभयो । बुवाले आफ्ना साना भाइ बहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनु भयो ।
बुबाले गरेको मेहनत राम्रोसंग देखेको छु । बुवा बिहानै कोदालो, हलो , फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुबाको लागि खान बनाएर लग्थे । म भ्याकुता जस्तै बुरुक बुरुक उफ्रिन्थे, हातको सबै खाजा पोखिएर खाना मात्र बाकी रहन्थ्यो, मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै चिसो कुवा बाट बग्दै गरेको पानीले खाना मुछ्दै खानुहुन्थ्यो । बुबाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि फोरुवाले बाउसे गर्दै बस्नुहुन्थ्यो । त्यो फोरुवाले बुवाको हातमा फोकै–फोका पारिदिन्थ्यो, त्यहि फोरुवाको बिडले नै बुवाको फोका फुटाउथ्यो । हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो । त्यसैले त हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौं । जति नै दुःख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुवा ।
हजुरको न कुनै दराज छ, न कुनै मधुुस, यति धेरै दुख हजुर कहाँ लुकाएर राख्नु हुन्थ्यो ? दुखेको त्यो खुट्टाले सकी नसकी झीजै झिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनु हुन्थ्यो। तरकारी राम्रो होस् भन्दै डोका कै डोका मल खन्याउनु हुन्थ्यो , त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरि विभिन्न थरीका फलफूल फुलेका छन् ।
सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियासँग कति झुक्नु भयो होला है ? ।
मैले सन्सार मा सबैभन्दा बढी बिश्वास गर्ने ब्यक्ति नै आफ्नो बुवा हो, किनकी उहाँले आफ्नो ईमान बेचेर क्षणिक खुसी हुने दुस्प्रयास कहिल्यै गर्नुभएन ।
यस बिचारका लेखक युवराज धौराली हुन । उहाको बुवा स्व बिष्णु प्रसाद धारालीको स्वर्गारोहण भएको आज ५८ औ दिन भएको छ । झापा निवासी समाजसेवी युवराज धौरालीले बुवाको सम्झनामा लेखिएको बिचार हो ।