काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाहले एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरले आर्थिक वर्ष २०८०÷८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेको थियो । तर बालेन साहले आफ्नै प्लानिङमा दुर्गम जिल्लाका स्थानीय पालिकालाई एम्बुलेन्स बाँडेर भ्रष्टाचार गरेको आरोपसहित उजुरी परेको हो । एम्बुलेन्स खरिदको शुरुवाती प्रक्रियादेखि नै कानुनको उल्लंघन र अनियमितता भएको दावी छ । बालेनको भ्रष्टाचार मोडलमा स्वकीय सचिव भुपदेव साहलगायतको मिलीमयो रहेको भन्दै उजुरीमा बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरुमाथि कारबाही माग गरिएको छ।
‘बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो । सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।’ भनेर सी–०४०५६९ दर्ता नम्बर भएको उक्त उजुरीपत्रमा भनिएको छ,
बालेन साहले एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेको र उनले त्यसैअनुसार खरिद प्रक्रिया अघि बढाएको आरोप पत्रमा उल्लेख गरिएको छ ।