काठमाडौं : विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । क्यानडा सरकारले त जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिनु भएको हो ।
रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड विरुद्धको खोप स्पुतनिक-भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड-१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो । रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।
जापानले आफ्नो देशमा बस्ने सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । जापानको संसद्ले एउटा कानुन नै पारित गरेर देशमा रहेका सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ ।
भारतमा पनि केही हप्ताभित्र खोप ल्याउने तयारी भैरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताउनुभएको हो । मोदीले भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि यस अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराउनुभएको हो ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिने गरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो । यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, वृद्धवृद्धाहरु र यसका बिरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि मोदीले दिनुभएको छ ।
नेपालमा यस्तो छ तयारी
नेपालमा कहाँबाट कसरी खोप ल्याउने भन्ने टुंगो नलागे पनि अरु तयारी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार खोप आएसँगै कसरी भण्डारण गर्ने, कस-कसलाई कसरी लगाउने भन्ने बारेमा तयारी भैरहेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा काम भैरहेको पनि मन्त्रालयले जनाएको छ ।
विश्वमा खोपलाई समानुपातिक ढंगले वितरणका लागि एउटा खोप सञ्जाल बनेको छ, जसलाई कोभ्याक्स भनिन्छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा काम गर्ने यो सञ्जालले नेपालजस्ता गरिब देशलाई पनि खोप पुर्याउन सहयोग गर्छ । नेपालमा सुरुमा आउने खोप यसैमार्फत आउने हो ।
कोभ्याक्सले आफूसँग समन्वय गरिरहेका नेपालजस्ता गरिब देशका लागि सुरुमा कुल जनसंख्याको करिब २० प्रतिशतलाई पुग्ने खोप दिने तयारी गरेको छ । यो खोपको शुल्क पर्ने वा नपर्ने भन्नेबारे त्यसको आर्थिक साझेदारीमा भर पर्छ यो २० प्रतिशत खोप अनुदानमा दिइने हो वा केही पैसा तिरेर ल्याउनुपर्ने भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म केही पनि बताएको छैन ।
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले विश्व स्वास्थ्य संगठनले खोपको मान्यता दिएपछि नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुभयो । पहिलो चरणमा खोप आएपछि कसरी भण्डारण र वितरण गर्ने भन्नेबारे तयारी भैरहेको उहाँले बताउनुभयो । कोभ्याक्स अन्तर्गत आउने खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको समूहलाई लगाउने तयारी छ । त्यसपछि वृद्धवृद्धालाई प्राथमिकता दिने सरकारले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको तयारी अघि बढाएको छ । जनचेतनादेखि तालिमलगायतका काम भैरहेको र यहाँ भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्ने उहाँले बताउनुभयो । अनुदानमा खोप ल्याउनको लागि कूटनीतिक प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । नेपालमा दुई देखि आठ डिग्रीसम्ममा खोप भण्डारण गर्न सकिने पूर्वाधार छ ।