काठमाडौं । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लगिएको हो । भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि भारत गएको छ ।
उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।
अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था गम्भीर छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै थएको छ । एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।
चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।