जोमसोम ||
मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरू भएको हो। हिउँ पर्न थालेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् ।
उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भइरहेको छ । हिमपात भएसँगै,स्थानीयबासी ,कर्मचारी र पर्यटकहरु हिउँसँगै रमाउन थालेका छन् ।
मुस्ताङमा चालु वर्षकै पहिलो बेमौसमी हिमपात भएको हो । हिउँदयाम सकिएर विस्तारै गर्मीयाम सुरु हुँदा मुस्ताङमा हिमपात भएको हो । बिहानैदेखि परेको हिउँ जमिनको सतह तातिसकेकाले बस्तीमा हिउँ जम्न सकेको छैन । यद्यपी तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र खर्कहरु हिउँले सेताम्मे हुन थालेको छन् । मुस्ताङमा मध्यम प्रकारको हिउँ परिरहेको छ । हिमपात अझै बाक्लो र साँझसम्म परेमा मुस्ताङका डाँडाकाँडा,खर्क ,खेतबारी र बस्ती पुरै हिउँले ढाकिने संभावना छ।
मुस्ताङको मौसम अहिले धुमिल छ । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भइरहेको छ । हिमपात भएसँगै,स्थानीयबासी ,कर्मचारी र पर्यटकहरु हिउँसँगै रमाउन थालेका छन् । जोमसोम स्थित नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले मुस्ताङमा जारी सिजनकै पहिलो हिपमात भएको जानकारी दिए । ‘ढिलै भएपनि यहाँ हिमपात हुँदैछ,अनुकूल समयमा नपरेको हिमपात अब पर्दैन होला भन्ने ठानेका थियौं,हिउँसँगै सेल्फी खिच्दै थकालीले भने,‘ जेहोस बेमौसममा भएपनि हिमपात भएको छ,यसले कृषकलाई आशिंक राहत भने दिनेनै छ ।’
जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । वसन्त ऋतुको आगामनसँगै यो वर्ष फागुनको अन्तिम महिनामा हिमपात भएको हो । यसवर्ष हिमाली जिल्ला मुस्ताङमा वर्षकै पहिलो हिमपात भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले उपल्लो मुस्ताङमा कोरलानाकासहित अप्परको सबै भेकमा बाक्लो हिमपात भएको उल्लेख गरे ।
मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । बाँक्लो हिमपात परेर केही हप्ता रहन सक्यो भने यसले हिउँ पर्यटनलाई आर्कर्षित गर्ने मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले बताए ।
गत वर्ष फागुनको पहिलो हप्ता मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगिता संञ्चालन भएकोमा यसवर्ष प्रतियोगिता आयोजना हुन नसकेको उनले बताए । पर्यटनकर्मी गुरुङले दुईदिन सम्म हिउँ परेमा मुस्ताङमा हिउँ खेल्ने युवापंक्तिको ओइरो लाग्ने दावी गरे ।
बर्सेनि कार्तिदेखि माघ महिनासम्म हिमपात हुने गथ्र्यो ।तर, यसवर्ष मुस्ताङमा हिमपात र वर्षा समेत हुन सकेको थिएन । हिउँ नपर्दा यहाँका कृषकले सिंचाईको भर पर्नु परेको थियो । कतिपय स्थानमा सिंचाईको स्रोत नहुने र हिउँ पनि नपरेकाले खेतीयोग्य जमिन सबै सुख्खा भएका थिए।
ढिलै भएपनि यसवर्षको हिमपातले मुस्ताङका किसानलाई आशिंक राहत प्रदान गरेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिए । स्याउ बगैचा व्यवस्थापन र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।
अनुकूल समयमा हिमपात नहुँदा सुख्खा बनेका यहाँका खेतीयोग्य जमिनमा हिउँले सिञ्चत गर्न थालेको छ । हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुन्छ । । हिउँदयामको हिउँ सिंचाईलाई मात्रै नभएर कृषकले लगाएको फलफूल तथा अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमण र प्रकोप नियन्त्रण गर्न टेवा पु¥याउँदछ । हिउँले स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने मार्फाका किसान दिपक लालचनले उल्लेख गरे ।
जलवायु परिर्वतनका कारण हिमाली जिल्ला मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुने,कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष अनुकूल समयमा हिमपात नै नहुने गरेको छ ।
गतवर्ष मुस्ताङमा १० पुस र १९ माघ महिनामा भारी मात्रामा हिमपात भएको थियो । यस्तै, ४ वर्षअघि मुस्ताङमा भारी हिमपात हुँदा उपल्लो मुस्ताङमा भारी वर्षा हुँदा सयौं याकचौरी र भेडाच्यांग्रा खर्कमा हिउँले पुरिएर मरेका थिए ।