डिजिटल विश्व तथा सोसल मिडियाको यो जमानामा हरेकजसो मानिस अहिले इन्टरनेटमा सक्रिय छ । पहिले इन्टरनेटको प्रयोग गर्नका लागि अंग्रेजी भाषा जान्नु आवश्यक हुन्थ्यो । तर अहिले परिभाषा बदलिएको छ । इन्टरनेट अहिले बहुभाषी बनिरहेको छ । अर्थात् अंग्रेजीसँगै अन्य भाषाहरुमा पनि इन्टरनेटको प्रयोग तीव्र गतिमा बढिरहेको छ । विज्ञहरुका अनुसार आगामी दिनमा इन्टरनेटमा जोडिने एक अर्ब प्रयोगकर्ताहरु गैरअंग्रेजी भाषी हुनेछन् ।
बहुभाषी इन्टरनेट जगतको पैरवी गर्ने संस्था Universal Acceptance Steering Group का सदस्य सुशान्त सिंहका अनुसार इन्टरनेटमा आगामी दिनमा जोडिने एक अर्ब नयाँ प्रयोगकर्ताहरु अंग्रेजी बाहेकका अन्य भाषाहरुमा बोल्ने वा लेख्ने प्रयोगकर्ता हुनेछन् । त्यसैले व्यक्ति तथा संगठनहरुका लागि अधिक समावेशी तथा बहुभाषी अनलाइन प्लाटर्फम विकशित गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाइ छ ।
Internet Corporation for Assigned Names and Numbers तथा Universal Acceptance Steering Group गरी २ संस्थाहरु इन्टरनेटलाई अधिक एकीकृत बनाउनका लागि काम गरिरहेका छन् जसले धेरै भाषा तथा लिपी सपोर्ट गर्दछ ।
यो उद्देश्यको पहिलो कदमचाहिं इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एक्सेप्टेन्स हो ।
सार्वभौमिक स्वीकृत दिवस
सबै बैध डोमेन नेम तथा इमेल ठेगानाहरु सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्न सक्ने कुराको सुनिश्चितता गराउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्रविधि आवश्यकता हो ।
उल्लेखित २ संस्थाहरुले विश्व इन्टरनेट समुदायसँग यो विषयमा पैरवी गर्दै आगामी २८ मार्चमा सार्वभौमिक स्वीकृति दिवस अर्थात् युनिभर्सल एक्सेप्टेन्स दिवस मनाउँदै छन् । यो दिवसका अवसरमा विश्वका ४० देशमा विभिन्न कार्यक्रमको आयोजना हुने बताइएको छ ।
Universal Acceptnce ले हरेक इन्टरनेट प्रयोगकर्तालाई आफ्नो रुची, व्यवसाय, संस्कृति, भाषा तथा लिपीसँग मिल्ने र आफुले रोजेको डोमेन नेम अनि इमेल एड्रेस प्रयोग गरेर इन्टरनेट प्रयोग गर्ने सक्षमता प्रदान गर्ने विज्ञहरु बताउँछन् ।
अंग्रेजी भाषा प्रयोगकर्ता एक तिहाइ मात्रै
तथ्यांक अनुसार हाल विश्वको कुल जनसंख्याको केवल एक तिहाइले मात्रै ल्याटिन अक्षरको प्रयोग गर्दछन् । जबकि अरु अरबौं मानिसहरुले चिनियाँ, अरबी, सिरिलिन, देवनागरिकलगायतका विभिन्न भाषामा पढ्न तथा लेख्न मन पराउँछन् । यसको अर्थ के भने इन्टरनेट पूर्णरुपमा बहुभाषी नहुँदा यतिधेरै मानिसले इन्टरनेटको पूरा फाइदा लिन सकिरहेका छैनन् । उनीहरु आफ्नै भाषामा तथा लिपीमा डोमेन नेम वा इमेल ठेगानाको प्रयोग गर्न असमर्थ छन् ।
एजेन्सी