अहो, कस्तो होला त्यो दिन
मेरो खास दिन, मेरो प्यारो दिन
मेरो आफ्नो अन्तिम दिन
अकस्मात् आत्तिएका कहालिएका रोदनहरू
जस्केला छेडेर बाहिर सुनिन्छ सुनिँदैन होला
झट्टै आँगनभरि दाजुभाइ र साथीसङ्गी
झुम्मिन्छन् झुम्मिँदैनन् होला
मेरो घर भित्रबाट विरक्त लाग्दो
एक्ले शंख बज्छ बज्दैन होला
सेतो कपडा बेरी परालमा कोही
बस्छ बस्दैन होला
उम्लिँदै गरेको तेलमा एकपाटे सेल
पाक्छ पाक्दैन होला
फूलमाला र अबिरले मलाई
सिँगार्छन् सिँगार्दैनन् होला
मलाई त इन्द्रकमल मन पर्छ
कसैलाई थाहा होला नहोला
मलाई त घण्टी फूल नि मन पर्छ
याद रहला नरहला
कस्तो बन्दो हो मेरो चौतारा
कस्तो लेखिँदो हो मेरो ढुङ्गे किताब
बढ्ला नबढ्ला मेरो नामको वरपिपल
तिनीहरूको बिहे होला नहोला
अहो, म त्यहीँ हुन्छु तर हुन्न
त्यो त्यस्तो भेला
अहो, म आफै छैन उपस्थित
मेरै मृत्युमेला
यो सद्गति मेरो भाग्यमा
रहला या नरहला
कठिन छ बताउन नआई
त्यो पक्का बेला
अफसोच, हुन त यस्तो पनि सक्ला कि
कसैले भेट्टाउनै नसक्ने एकलासमा
या कसैले छुनै नमान्ने पराई देशमा
दुर्गति प्राप्त हुन सक्ला
र, हुन सक्ला त्रासदीपूर्ण प्रस्थान
या हुन सकुँला
जल या अग्निमा समाधिस्थ
त्यसैले त भन्न मन लाग्छ कैले त
हे दैव, प्रकट हो र बता
कस्तो लेखिएको छ
मेरो अन्तिम कथा ।
मेरो अन्तिम कथा ।।
सुरेश राई।