कैलाली । गत माघ २६ गते सुदुरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । मुख्यमन्त्री शाहसँगै काँग्रेसका प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीले अर्थ मन्त्रीको सपथ लिए । तर मुख्यमन्त्री नियुक्त भएको झण्डै दुई महिना पुग्नै लाग्दासमेत सरकार विस्तार भने हुन सकिरहेको छैन ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ७ मन्त्रालय कायम गरिएका छन् । तर हाल भौतिक पुर्वाधार र अर्थ बाहेकका मन्त्रालयहरु रिक्त अवस्थामा छन् । प्रदेशका मुख्यमन्त्री नियुक्त भएको २ महिना पुग्दै गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । लामो समयसम्म पनि सरकारले पूर्णता नपाउँदा नागरिकका कामहरु अलपत्र पर्ने गरेका छन् भने सरकारको नेतृत्व गरिरहेका दलहरु कुर्चीको भागबण्डा मिलानमै ब्यस्त भएको आरोपसमेत लाग्न थालेको छ ।
आफ्ना मुद्दाहरु सम्बोधन नभएको यसअघि नागरिक उन्मुक्ति पार्टीकै कारण अघिल्लो एमाले नेतृत्वको सरकार ढलेको थियो । त्यसपछिको कांग्रेस नेतृत्वको सरकारमा पनि आफ्नो मागहरु सम्बोधन नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्तिले अडान लियो । आफ्नो माग पूरा नभए पनि अहिले भने उन्मुक्तिले सरकारमा जान खुट्टा उचालेको छ ।
सुदूरपश्चिमका ७ मन्त्रालयमध्ये काँग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालय र एकीकृत समाजवादीले अर्थ मन्त्रालय पाइसकेको छ । बाँकी ४ मन्त्रालय मध्ये नागरिक उन्मुक्तिले २ र माओवादी केन्द्रले ३ मन्त्रालयको दाबी गरिरहेको छ । यद्यपि मन्त्रालय बाड्फाँटका बिषयमा भने मुख्यमन्त्री शाहले अहिले नै सत्ता साझेदार दलहरुसँग छलफल थालेको छैनन् । संघीय सरकार बिस्तार तथा समीकरण अनुसार प्रदेश सरकार बिस्तार हुने मुख्यमन्त्री शाह बताउँछन् ।
काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीको समर्थन छ भने नेकपा एमाले र राप्रपा प्रतिपक्ष दलको भूमिकामा छन् । यसअघि एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको थियो ।