May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छोरालाई विदेश पठाउन लिएको १ लाख तिर्न आमा आफैं बसिसकिन् ९ वर्ष विदेश

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४१
छोरालाई विदेश पठाउन लिएको १ लाख तिर्न आमा आफैं बसिसकिन् ९ वर्ष विदेश

काठमाडौं । नवलपरासीकी ६४ वर्षीया तिलेसरी देवी राजभर चार दिनदेखि निदाएकी छैनन्।

बिहीबार बिहान साढे ९ बजे हामी रानीपोखरीको शान्ति वाटिका पुग्दा उनी टोलाएर बसिरहेकी थिइन्। चार दिनको अनिदोले होला, बिरामीजस्ती देखिन्थिन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–४ की तिलेसरी देवी आइतबार काठमाडौं आइपुगेकी हुन्। त्यसयता उनले हरेक रात शान्ति वाटिकाको चिसो भुइँमा काटिन्। त्यहाँ त्रिपालको छानो छ, बस्न म्याट बिछ्याइएको छ। तै पनि १५-२० जना एकै ठाउँ भएपछि खुट्टा तन्काएर सुत्न पाइन्न। पराई ठाउँमा निद्रा त्यसै पनि अञ्जुलीमा राखेको पानीजस्तो चुहिरहन्छ।

हुन त तिलेसरीको निम्ति यस्तो कष्ट नौलो हुँदै होइन। उनले चैनको निद्रा नसुतेको १५ वर्षभन्दा बढी भइसक्यो।

२०६४ सालको कुरा हो। तिलेसरीले गाउँकै साहु जगदिश बानियाँसँग एक लाख रूपैयाँ ऋण लिएकी थिइन्। ऋण लिन उनका ससुरा वदरी राजभरले ११ कट्ठा ३ धुर जग्गा बन्धक राखेका थिए। त्यसको कागजात उनले अहिलेसम्म फुकाउन सकेकी छैनन्।

पैसा तिर्न नसकेर कागजात फुक्का नभएको भए अर्कै कुरा हुन्थ्यो। ऋण चुक्ता गरिसक्दा पनि जग्गा बन्धक नै रहेकाले उनको चिन्ता बढेको हो। यही चिन्ताले छ साताअघि तिलेसरीका श्रीमान रामसुवेर राजभरको मृत्यु भयो। ऋण तिर्दा पनि कागजात फिर्ता नपाएको पिरले उनको मानसिक सन्तुलन बिग्रिएको थियो।

‘उहाँ आफू अशिक्षित भएर ठगिनुपरेको भन्दै पिरोलिनुहुन्थ्यो, आफैंलाई कोस्नु हुन्थ्यो,’ उनले भनिन्, ‘चिन्तै चिन्तामा स्वास्थ्यको ख्याल राख्नुभएन। लामो समय थला परेर बित्नुभयो।’

यति हुँदा पनि तिलेसरीले हिम्मत हारेकी छैनन्।

मिटरब्याजीका रूपमा ठगी गर्नेलाई कारबाही गराउन र आफूले तिरेको लाखौं रूपैयाँ फिर्ता माग्न उनी काठमाडौं आएकी छन्। न्याय नपाएसम्म सरकारको ढोका ढकढक्याइरहनेमा उनी दृढ छिन्।

‘गाउँको सरकारले नसुनेर केन्द्र आइपुगेको हुँ, केन्द्रले पनि हाम्रो पीडा नसुने कहाँ जाने?’ उनले भावुक हुँदै भनिन्।

तिलेसरीको जन्म २०१७ वैशाख २० गते भारतमा भएको हो। नवलपरासीको प्रतापपुर गाउँपालिकामा उनकी सानीआमा (आमाकी बहिनी) को घर थियो। त्यहीँ आउने-जाने क्रममा रामसुवेरको परिवारसँग चिनजान भयो।

विवाह हुँदा तिलेसरी २२ वर्षकी थिइन् भने रामसुवेर १८ वर्षका थिए। विवाहपछि पाँच वर्षसम्म उनी माइतमै बसिन्।

पाँच वर्षपछि घर आइन्। घरको जेठो छोरा भएकाले रामसुवेरमाथि परिवारको जिम्मेवारी थियो। उनी भारतको पञ्जाबमा जागिर गर्थे। विवाहपछि पनि उनको धेरैजसो समय भारतमै बित्थ्यो। यता तिलेसरी देवी घर सम्हाल्थिन्।

पञ्जाबमा काम गर्ने सिलसिलामा एकदिन रामसुवेर तीन तलाबाट खसे। उनको ढाड भाँचियो। लामो समय थला परे। यसबीच तिलेसरीले दुई छोरी र एक छोरालाई जन्म दिइसकेकी थिइन्। आफ्ना तीन सन्तानसहित देवर–नन्दको हेरचाहको जिम्मा उनकै काँधमा थियो।

नेपालमा मिहिनेत-मजदुरी गरेर दुई छाक टार्न गाह्रो भएपछि २०५५ सालमा तिलेसरीले विदेश जाने निर्णय गरिन्। नि:शुल्क भिसा र नि:शुल्क टिकटमा साउदी अरब गएको उनी बताउँछिन्।

उनी ८ वर्ष ९ महिना साउदी बसेर फर्किइन्। त्यहाँ कमाएको पैसाले जेठी छोरीको विवाहमा लागेको ऋण तिरिन्। केही पैसा श्रीमानको उपचारमा सकियो।

दुईमहिने छुट्टीमा घर आएका बेला छोराले पनि सँगै जाने ढिपी गरे। छोराको ढिपीका अगाडि तिलेसरीको केही लागेन। उनले छोरालाई विदेश लैजाने व्यवस्था मिलाउन जगदिश बानियाँसँग एक लाख ऋण लिइन्। यसका लागि ससुरा वदरी राजभरले २०६४ भदौ ३ गते ११ कट्ठा ३ धुर जग्गा दृष्टिबन्धक गरिदिएका थिए।

त्यति बेला आफूले सय रूपैयाँको चार रूपैयाँ ब्याज तिर्ने गरी कागजातमा हस्ताक्षर गरेको उनी बताउँछिन्।

यसरी ऋण लिएर खर्च व्यवस्था गरे पनि तिलेसरीका छोरा विदेश जान पाएनन्। उनीहरू भारतको बाटो हुँदै साउदी जान लागेका बेला छोराको उमेर २० वर्ष नपुगेको भन्दै जान दिइएन।

‘त्यसपछि चार महिना भारत बस्दा ५० हजार सकियो,’ उनले भनिन्, ‘बाँकी ५० हजारमा मैले आफ्नो लागि टिकट लिएँ।’

तिलेसरी दोस्रोपटक पनि पहिलेकै ठाउँमा काम गर्न गएकी थिइन्। यसपालि उनको तलब बढेर १ हजार २ सय रियाल पुगेको थियो। उनले हरेकचोटि साउदीबाट पैसा पठाएको दिन श्रीमान र साहु सँगै गएर बैंकबाट निकाल्थे।

‘दोस्रोपटक म ६ वर्ष ६ महिना साउदी बसेँ,’ उनले भनिन्, ‘६ वर्षमा सात लाख ५५ हजार रूपैयाँ साहुलाई बुझाएको मसँग हिसाब छ।’

यति पैसा तिरेपछि उनले साहुको ऋण चुक्ता भयो भन्ठानेकी थिइन्। त्यही भएर घर फर्किएपछि ससुराले दृष्टिबन्धक राखेको जग्गा फिर्ता माग्न गइन्। तर साहुले थप १० लाख रूपैयाँ एकमुष्ठ नबुझाएसम्म जग्गा फिर्ता नदिने धम्की दिए।

‘मैले त्यो ऋण आफ्नो छोरा विदेश पठाउन भनेर लिएको थिएँ। त्यसैले ऋणको दबाब मैमाथि थियो। ससुरालाई त्यही जग्गा चार दाजुभाइमा भाग लगाउनु थियो। जग्गा समयमै फिर्ता गर्न नसक्दा परिवारसँग मेरो सम्बन्ध बिग्रँदै गयो,’ उनले भनिन्।

जग्गा फिर्ता गर्न नसकेको भन्दै घरायसी कचकच सुन्न नसकेर तिलेसरीले तेस्रोपटक साउदी जाने अठोट गरिन्।

उमेर ढल्किँदै गए पनि जिम्मेवारीले साथ छाडेको थिएन। उनी २०७२ सालमा फेरि साउदी गइन्।

यसपालि उनले महिलाहरू पढ्ने ठाउँमा काम पाइन्। त्यहाँ तलब पनि पहिलेभन्दा राम्रो थियो। ऋण तिर्नुछ भन्ने रनाहामा उनले दिनको १८ घन्टासम्म काम गरिन्।

‘यसरी तीन वर्षमा १० लाख रूपैयाँ जम्मा गरेर एकमुष्ठ पठाएँ,’ उनले भनिन्, ‘तै पनि जग्गाको कागजात फिर्ता पाइनँ।’

तिलेसरीले एक लाख ऋणबापत् दुईपटक गरेर १७ लाख ५५ हजार बुझाइसकेकी छन्। यति तिर्दा पनि जग्गा फुकुवा हुने छेकछेन्द नदेखेपछि बाध्य भएर आन्दोलनको बाटो समातेको उनी बताउँछिन्।

‘एक लाखको साँवा-ब्याज जति लाग्छ, त्यति राखेर मेरो बाँकी पैसा फिर्ता पाऊँ भनी आन्दोलनमा होमिएकी हुँ,’ तिलेसरीले भनिन्।

मिटरब्याजमा ठगी गर्ने साहुसँग जग्गाको कागजात फिर्ता पाउन चार वर्षदेखि प्रहरी-प्रशासनकहाँ धाउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ।

उनीसँग आफूले तिरेको रकमको लिखित प्रमाण छैन। साहु भने आफ्नो पक्षमा बलियो प्रमाण लिएर बसेको छ। त्यही आधारमा अझै पनि पैसा धुत्ने मनसाय देखाइरहेको उनी बताउँछिन्।

‘साहु आफैं पैसा लिन आउँदैन, अरूलाई धम्की दिन पठाउँछ,’ उनले भनिन्।

तिलेसरी आफू जिउँदो छँदै जग्गाको कागजात फिर्ता लिन चाहन्छिन्। तर राज्यका सम्बन्धित निकायले आफू र आफूजस्ता मिटरब्याज पीडितहरूको समस्या नसुनेको उनको भनाइ छ।

‘मेरो सास यसै गयो भने मैले पैसा दिएको छु भन्ने पनि कोही हुँदैन भन्ने पिर छ,’ निद्रा बिग्रेर सुन्निएका आँखा मिच्दै तिलेसरी देवीले भनिन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट