घोराही । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।
शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार श्रीमतीको हत्यापछि शव गाडेर श्रीमान् प्रहार भएको हुन सक्ने बताउनुभयो । ‘रतनपुरबाट श्रीमान् र श्रीमती हराएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले श्रीमतीको शव गाडेको अवस्थामा फेला पारेको थियो’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले भन्नुभयो,‘श्रीमानको खोजी कार्य भइरहेको छ ।’
जमिनमा गाडेको अवस्थामा खुट्टाको पैताला देखिएको खबर प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शव निकाल्दा शारदाको भएको पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । प्रवक्ता गौतमले घट्नाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा मृतकका आफन्तले मेघरा विरुद्ध किटानी जाहेरी दिएका छन् । घटना नयाँ वर्ष वैशाख १ गते मध्यरातिको भएको अनुमान गरिएको छ । उक्त दिन मृतककी विवाहित छोरी र १५ वर्षीय कान्छो छोरा नयाँ वर्ष मनाउन मामाघरमा गएका थिए । मृतकका छोराछोरी मामा घरबाट वैशाख ३ गते आफ्नो घरमा फर्किदा घरमा बाबुआमा नभएको प्रहरीलाई जानकारी दिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।
मृतकका जेठो छोरा रोजगारीको सिलसिलामा भारतमा छन् । प्रहरीका अनुसार वैशाख १ गते मृतक शारदाकी सासू आमा ७५ वर्षीया पनि जेठो छोरोका घरमा गएको अवस्थामा मेघराजले श्रीमतीको हत्या गरेर शव गाडेको हुनसक्ने आशङ्का गरेको छ । हराइरहेको समयमा घरनजिकै कटहरको रुखमा फलेको कटहर टिप्ने क्रममा खाडलमा गाडेको मानिसको खुट्टाको पैताला देखिएपछि शारदाको हत्या भएको घटना सार्वजनिक भएको थियो ।