बारा । बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचन अन्तर्गत उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चुनावप्रचारको आज अन्तिम दिन हो ।
मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरु आफ्नो जित निश्चित रहेको भन्दै उत्साहित भएर भोट मागिरहेका छन् । मतदाता स्वयं भने उत्साहित देखिँदैनन् ।
चुनावका बेला शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, मलखाद लगायतका अनेकौं एजेण्डा देखाएर प्रभावमा पार्ने उम्मेदवारहरु जितेर गएपछि फर्केर नआउने धेरैको गुनासो छ ।
महागढीमाई नगरपालिका–६ का बुधनप्रसाद यादव मलखाद र सिँचाइ नहुँदा यसपटक पनि एक बिगाहामा २० क्विन्टलमात्रै मकै फलेको गुनासो गर्दछन् । ‘गत वर्ष पनि त्यति राम्रो फलेन, मलखादको समस्या छ, रोगकिराले त्यस्तै दुःख दियो, मकै राम्रो फलेन, बजारमा मकैको मूल्य पनि छैन,’ उनले भने ।
अहिले बजारमा प्रतिक्विन्टल मकैको मूल्य ३ हजार छ । ‘मलखाद, मकैको बिउ, जोताईको हिसाब जोड्दा एक बिगाहामा ४० देखि ५० हजार खर्च हुन्छ,’ यादवले भने । उनले यही खेतीपातीबाट ६ जनाको परिवार पाल्छन् । बालबच्चाको पढाईलेखाई पनि यसबाटै धान्नुपर्ने बाध्यता छ ।
चुनावमा किसानका कुरा गर्ने उम्मेदवारहरु निर्वाचन जितेर गएपछि गाउँमा फर्केर नआउने गरेको उनको गुनासो छ ।
बारा निर्वाचन क्षेत्र नं २ कृषि आधारित क्षेत्र हो । यहाँ औद्योगिक करिडोर, राष्ट्रिय गौरवका आयोजना तथा ठुला विकास निमार्णका योजना छैनन् । यहाँ ठुलो भूभागमा धान, मकै, गहुँ, उखु उत्पादन हुन्छ । मलखाद, सिँचाइ, गुणस्तरीय बिउबिजन, जोताई खर्च अत्यधिक महँगो हुँदा कृषक समस्यामा छन् ।
पचरौता नगरपालिका–१, पिपरपातीका आजाद हुसेन मन्सुरले गाउँमा सबैभन्दा धेरै मलखाद, बिउ, सिँचाइ र बजारको समस्या भएको बताए । ‘चुनावमा नेताहरु कृषि मिटर निःशुलक जडान गरिदिने भनेर घोषणा गर्छन् तर आजसम्म पाएको छैन, हामीले दुःख गरेर उब्जाएको धान, मकै कहाँ लगेर बेच्नु ? बजारको पनि व्यवस्था छैन,’ उनले भने, ‘गाउँमा पनि जति विकास हुनुपर्ने हो, त्यो भएको छैन । पार्टीले आफ्ना मान्छे हेरेर काम गर्छ, ।’
स्थानीय दलित, गरिब, विपन्नहरुको घर बनाइएको भनेर कागजमा विकासका योजना रहे पनि व्यवहारमा आफूहरुले घर नपाएको उनीहरुको गुनासो छ । पचरौताका स्थानीयले नगरपालिकामा नेकपा एमाले र जसपाका जनप्रतिनिधिबीचको विवादले १ वर्षदेखि विकासको कुनै काम नभएको गुनासो गरे ।
‘यहाँ मेयर÷उपमेयर एमालेको भए पनि बहुमत जसपाको छ, प्रमुखले बहुमतलाई पन्छाएर एकलौटी गर्न खोज्दा १ वर्षदेखि गाउँमा कुनै विकास भएको छैन,’ हुसेनले भने, ‘अब ४ वर्ष बाँकी छ, अन्तिम वर्षमा बजेट चलाउन पाइँदैन, १ वर्ष बितिसक्यो । ३ वर्षमा काम गर्ने हो कि लुट्ने हो थाहा छैन ।’
पचरौता–१, पिपरपातीका अर्का युवा जमसेद आलमले चुनावमा नेताहरु भोट माग्न आउँदा खुट्टामा ढोग्ने गरेको तर जितेपछि फर्केर नआउने बताए । ‘नेताहरु हाम्रो गाउँसमाज कस्तो छ भनेर हेर्न आउनुपर्यो नि,’ उनले भने, ‘भोट माग्न सबैजना आउँछन्, भोट दिनु, जितिसकेपछि आउँदैनन्,’ कक्षा १० मा पढ्दै गरेका आलमले भने ।
उनले गाउँको स्कुलमा राम्रो पढाई नहुँदा रौतहट गएर पढ्न बाध्य भएको बताए । ‘गाउँको स्कुलमा पढाई हुँदैन, किताब नआई परीक्षा सकियो,’ आलमले भने ।
पचरौताका युवाले गाउँमा रोजगारीको कुनै व्यवस्था नभएको गुनासो गरेका छन् । नजिर अन्सारीले गाउँमा राम्रो अस्पताल नभएको र भएको अस्पतालमा पनि स्वास्थ्यकर्मी र मेसिनहरु केही नभएको गुनासो गरे ।
‘यहाँ कोही बिरामी भएमा वीरगञ्ज, कलैया जानुपर्छ, यहाँबाट जाँदाजाँदै कति मान्छेको बाटोमै मत्यु हुन्छ,’ उनले भने ।
चुनावमा आउँदा नेताहरुले अस्पताल बनाइदिन्छु भन्ने तर जितेर गएपछि ५ वर्ष हराउने गरेको उनले बताए । उनले भने, ‘हामी इमानदार नेता भनेर आफूलाई चिनाउने, यो गरिदिन्छौं, त्यो गरिदिन्छौं भन्ने तर जितेपछि केही नगर्ने, यहाँ राजनीति व्यापारजस्तो भइसक्यो ।’
अर्का स्थानीय युवा जोखी साहले उम्मेदवारहरु घरदैलोमा भोट माग्न आए पनि मतदाताहरुमा कुनै उत्साह नै नभएको बताउँछन् ।
महागढीमाई नगरपालिका–६ का जोखु साहले भने गएको चुनावमा महागढीमाई नगरपालिकाले ग्याँस सिलिण्डर बाँडेको तर चुलो नदिएको भन्दै गुनासो गरेका छन् । ‘चुनावको मुखमा महागढीमाई नगरपालिकाले धनी गरिब सबैलाई ग्याँस सिलिण्डर बाँड्यो, पैसा हुनेहरुले त चुलो किनेर बाले तर हामी पैसा नहुनेले आजसम्म ग्याँस चुलो किन्न सकेको छैन,’ स्थानीय जोखु साहले ।
महागढीमाई नगरपालिका– ६ मामात्रै ३ हजारभन्दा धेरै मतदाता छन्, जसमध्ये दलित समुदायको भोट अधिक रहेको स्थानीयले बताएका छन् ।
बारा–२ मा १ लाख ५ हजार २९८ मतदाता छन् । २ नगरपालिका सहित ५ वटा पालिका रहेको बारा–२ मा उपनिर्वाचनका लागि स्वतन्त्र सहित ३४ जना उम्मेदवार छन् । जसमध्ये आधा दर्जन उम्मेदवार मात्रै चुनावी घरदैलोमा व्यस्त छन् । चुनावी अंकगणित जसको पक्षमा भए पनि मतदाताको एउटै माग छ– गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका लागि मलखाद, बिउ बिजन, सिँचाइ र बजारको व्यवस्था हुनुपर्यो ।