विराटनगर । कोशी अस्पताल विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगर बिच  सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।
कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता भन्दा अति कम सङ्ख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र मिर्गौला फेल भएकाहरू प्रत्यारोपण नहुँदासम्म डायलिसिस सेवा समेत पाउन नसक्ने अवस्थालाई मध्यनजर गरी मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिएको विकास समितिका सदस्य बुढाथोकीले बताए ।
सेवा सञ्चालनका लागि  सम्झौता भएकाले चाँडै सेवा सुरु गर्ने गरी तयारीमा लागि सकेको बताए ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार र सात वटै प्रदेशमा प्रत्यारोपण तथा डायलिसिस सेवा विस्तार गर्ने उचित व्यवस्था गराउने प्रयोजनका लागि मिर्गौला फेल भएका बिरामीहरूको लागि मिर्गौला प्रत्यारोपण सेवा शुभारम्भ गर्न तथा डाइलाइसिस सेवा विस्तार गर्नको लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।
सम्झौता अनुसार मिर्गौला प्रत्यारोपण सेवाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, फेलोसिप लगायत शैक्षिक कार्यक्रमको लागि व्यवस्था गर्ने छ । त्यसैसरि मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन पनि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।  कोशी अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रविनराज सिंह र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपालको करिब ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको छ । जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मिर्गौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा हरेक वर्ष करिब ३ हजार जनाको मिर्गौला फेल र १ हजार जनाको कलेजो फेल हुनेको विभिन्न अध्ययनले देखाएको छ ।
कोशी अस्पतालमा महेश भट्टराई नेतृत्वको विकास समितिले अस्पतालको व्यापक सुधार गरिरहेको छ । अस्पतालमा विभिन्न उपचार सेवाहरूको विस्तार, कवाडी सामग्रीहरूलाई मर्मत गरेर अस्पताल बेड निर्माण, अस्पताल भित्रको सफाइ, भौतिक पूर्वाधार निर्माण लगायतका काममा विकास समिति सक्रिय बनेको छ । अध्यक्ष भट्टराईले कोशी अस्पतालमा जनशक्ति अभावको समस्या पनि चाँडै समाधान हुने प्रक्रियामा रहेको बताए ।