बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएकाले ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकबाट सोमबार बिहान ११ बजेबाट मतगणना सुरु हुने गरी सहमतिबाट निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
मतगणनाका लागि बाराको सदरमुकाम कलैयास्थित शैक्षिक तालिमको सभा हलमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले भन्नुभयो ।