April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

राष्ट्रपतिको उपचारबारे शीतलनिवास बोल्ने कि सिंहदरबार ?

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:२३
राष्ट्रपतिको उपचारबारे शीतलनिवास बोल्ने कि सिंहदरबार ?

हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास थालेको एक दशक पनि पुगेको छैन । लोकतान्त्रिक गणतन्त्रको अभ्यास अहिले हाम्रा लागि विद्यार्थीका लागि नयाँ पाठ्यक्रमजस्तै छ । यसको मतलब हामी संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा सिक्दैछौँ ।

त्यसैले, एक दशक पनि अभ्यास नगरेको एउटा व्यवस्थाका बारेमा आम नागरिकदेखि राष्ट्रप्रमुख समेतबाट हुने त्रुटिलाई मर्यादाक्रम अनुसार माफी पाउँछौ र पाउनुपर्छ । राष्ट्रप्रमुखलाई धेरै छुट नहोला, आम नागरिकलाई अलि बढी छुट होला । संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा अन्जानमा गरेका गल्तीमा अझै केही छुट पाउने अवस्था छ । किनकि राष्ट्रप्रमुखदेखि हामी आम नागरिकसम्म संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने नयाँ पाठ्यक्रम पढ्दै गरेका विद्यार्थी हौ ।

राष्ट्रपति भन्ने संस्थाले आफै केही गर्दैन । हाम्रो संविधानले यही भनेको छ । त्यही भएकाले राष्ट्रपतिका बारेमा उठ्ने प्रश्नको जवाफ राष्ट्रपतिले दिने होइन । राष्ट्रपति भन्ने संस्थामा बारेमा उठ्ने हरेक प्रश्नको जवाफ सरकारले दिनुपर्छ । यदि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने हो भने राष्ट्रपतिलाई कुनै पनि विषयमा विवादमा ल्याउनु हुँदैन ।

हामीले कठिन सङ्घर्षबाट ल्याएको गणतान्त्रिक शासन व्यवस्थालाई सफल, लोकप्रिय र जनभावना अनुकूल बनाउन राष्ट्रपति पदले खेल्ने भूमिका महत्त्वपूर्ण हुन्छ । त्यो भूमिका भनेको विवादरहित भएर राष्ट्रपतिले कार्यसम्पादन गर्नुपर्छ । अर्थात् विगतमा जे जे भए पनि अब उप्रान्त राष्ट्रपति भन्ने संस्थाले गल्ती नै गर्दैन भन्ने भाष्य निर्माण गर्न जरुरी छ । यो भाष्य अहिले होइन, विगतमा नै गरिनु पर्दथ्यो ।

अब विगतबाट शिक्षा लिएर राष्ट्रपति भन्ने संस्थाले गल्ती नै गर्दैन भन्ने भाष्य निर्माणका लागि उक्त संस्थाबाट सम्पादन हुने हरेक काम कारबाहीको जिम्मेवारी सरकारले लिनुपर्छ ।

हालै राष्ट्रपति पौडेल स्वास्थ्योपचारको सिलसिलामा भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गराएर नेपाल फर्किएका छन् । अहिले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका बारेमा उठेको प्रश्नको जवाफ सरकारले दिनुपर्छ ।  उपचारका लागि भारत पठाउन राष्ट्रपति पौडेलले नमान्दा नमान्दै चिकित्सकको सिफारिस र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राष्ट्रपतिलाई उपचारका लागि दिल्ली पठाउन आफूले दबाब दिएको भनेर आफैले सार्वजनिक कार्यक्रममा भनिसकेका छन् ।

त्यसैले, राष्ट्रपति पौडेललाई किन उपचारका लागि भारत लगियो भन्ने विषयमा अब विवाद रहेन । तर, अझै पनि प्रश्न बनिरहेको उपचार खर्चका बारेमा सरकारले आम नागरिकलाई जानकारी दिनुपर्छ । र, सरकारले चाँडै जानकारी दिनेछ भन्नेमा विश्वास गरौँ ।

राष्ट्रपति पौडेल नेपालमा उपचारका लागि किन विदेश पुगे भन्ने विषयलाई सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चर्चाको विषय बनाइयो । यहाँको अस्पतालको भीभीआईपी कक्ष खाली भएकोदेखि राष्ट्रपति पौडेलको उपचार नेपालमा नै सम्भव थियो भन्ने विषयलाई उठाइयो ।

राष्ट्रप्रमुखप्रति यति आशा गर्नु नहुने हुँदै होइन । तर, यो भन्दा महत्त्वपूर्ण विषय के हो भने चाहे राष्ट्रप्रमुख होस् या साधारण मान्छे सबैका लागि जीवन पहिलो हो । राष्ट्रपति पौडेल बेलुका रुघाखोकी लागेर भोलिपल्ट बिहानै उपचारका लागि दिल्ली जानुभएको होइन । उहाँ चौध दिनसम्म शिक्षण अस्पतालमा उपचार गराउँदा पनि स्थिति थप जटिल हुँदै गएपछि त्यहाँका डाक्टरहरूको परामर्शमा थप उपचारका लागि दिल्ली जानुभएको हो ।

उहाँलाई उपचारका लागि दिल्ली जानै हुँदैनथ्यो । नेपालमै उपचार सम्भव थियो भन्नेहरूले बुझ्नुपर्ने विषय के हो भने स्वास्थ्यमा समस्याकै कारण राष्ट्रपति पौडेलले बेलायती राजा चार्ल्सको राज्याभिषेकमा समेत सहभागी हुने ऐतिहासिक अवसरको उपयोग सदुपयोग गर्न सक्नु भएको छैन ।

दिल्लीमा पनि राष्ट्रपति पौडेल महँगो अस्पतालमा नगई सार्वजनिक अस्पतालमै उपचार गराउनु भएको हो । पौडेलले उपचार गराएको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्स भारतको सरकारी अस्पताल नै हो । सामान्य नेपालीले पनि गम्भीर रोग लाग्दा कम खर्चिलो मानेर उपचार गराउँदै आएको अस्पताल हो । नेपालका कतिपय निजी अस्पतालभन्दा राष्ट्रपति पौडेलको उपचार गराइएको एम्सको खर्च निकै कम छ ।

राष्ट्रपतिको उपचारसँगै केही विषयहरूलाई अतिरञ्जित हल्ला फिँजाइयो । ती विषयहरु सामान्य हल्ला जस्तो लागेपनि नियोजित र प्रायोजित प्रचारबाजी थिए । ती विषय भनेको राज्यकोषको दुरुपयोग गरेर परिवारका सदस्यहरूसमेत भत्ता खानैका लागि दिल्ली पुगेको पनि प्रचार गरियो ।

तर नेपालको कानुनले भ्रमणका लागि विदेश जाने र उपचारका लागि विदेश जाने अवस्थालाई फरक रूपमा स्पष्ट पारेको छ । भ्रमण भत्ता भन्नासाथ राजकीय र औपचारिक भ्रमणका बेलामा मात्र लागु हुने विषय हो । तर, यति जान्दा जान्दै सरासर असत्य प्रचार गराइयो । उपचारका लागि जाँदा कानुनले कुनै भत्ता वा सुविधा तोकेको छैन ।

अभिभावक बिरामी हुँदा हेरचाह र रेखदेखमा परिवारका सदस्य जानु अस्वाभाविक विषय पनि होइन । रामचन्द्र पौडेल अहिले मुलुककै अभिभावक हो । मुलुकको अभिभाव हिजो कोही अर्कै हुनुहुन्थ्यो र भोलि पनि अरू नै कोही हुनुहुनेछ । तर रामचन्द्र पौडेलको परिवारको अभिभावक हिजो, आज र भोलि पनि उहाँ नै हो । परिवारका लागि आफ्नो अभिभावकको उपचार ठुलो विषय हो ।

कोही पनि आफन्त बिरामी परुन् अनि भत्ता खाउँला भनेर बस्दैनन् । यस्तो संवेदनशील विषयलाई यसरी अतिरञ्जित गर्नु मानवीयताका दृष्टिमा कति उचित देखिन्छ भन्ने विषयलाई आम नागरिकले मनन गर्न जरुरी छ ।

हामी गणतन्त्रको अभ्यासमा दशक बिताएका छैनौ । हाम्रो मुलुकमा पूर्वराष्ट्रपति पनि दुई जना मात्र हुनुहुन्छ । रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति हो । तर उहाँको राजनीतिक जीवन विगतका दुई जना राष्ट्रपतिहरूको भन्दा लामो छ । अनि आधा शताब्दीभन्दा लामो राजनीतिक यात्रामा लोकतन्त्रका पक्षमा अविचलित यात्री हो रामचन्द्र पौडेल ।

त्यति मात्र होइन, करिब तीन दशकभन्दा बढी समय राज्य सञ्चालनको विभिन्न भूमिकामा रहँदा पनि बेदाग रहने पात्र पनि रामचन्द्र पौडेल हो । लोकतन्त्र उहाँको मन, वचन र कर्ममा भिजेको छ ।

त्यसैले, लोकतन्त्रलाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्नेमा उहाँको सधैँ चिन्ता रहन्थ्यो । लोकतन्त्रलाई व्यवहारमा उतार्ने प्रयासस्वरुप उहाँले राष्ट्रपतिमा निर्वाचित हुनासाथ सवारी शब्दको सट्टा ‘अवागमन’ शब्द प्रयोग गराउनु भयो । राजधानी काठमाडौंमा पहिलोपटक राष्ट्रपतिको आवागमनमा सडक जाम भएन, एम्बुलेन्स रोकिएन । कसैका टाउकामा प्रहरीकोे लाठी बज्रिएन ।

राष्ट्रपति पदको मर्यादा बुझेका उच्च राजनीतिक संस्कार बोकेका राष्ट्रप्रमुखको उपचार स्वदेशमा जटिल भयो । त्यसपछि भारतको सरकारी अस्पतालमा लैजानुलाई कथित राष्ट्रवादका नामबाट विवादस्पद बनाइनु गणतान्त्रिक व्यवस्थाको साख गिराउने अभ्यास हो । राष्ट्रपति पौडेलको उपचार भने नेपालकै ‘त्रिवि शिक्षण अस्पताल’ को प्रतिरुप भन्न सकिने एम्समा गरियो । तै पनि किन यति ठुलो विवादास्पद बनाइयो ?

निमोनियासँग संङघर्ष गरिरहेका राष्ट्रप्रमुखमाथि गरिएको दुराशयपूर्ण पूर्वाग्रही प्रहार जति अमानवीय छ ,त्यति नै अनपेक्षित पनि हो ।

श्राराेत : ताेपाटी डट कम

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।