April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

कांग्रेसभित्र र बाहिर हलचल ल्याउने गगनको स्टाटस

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:४९
कांग्रेसभित्र र बाहिर हलचल ल्याउने गगनको स्टाटस

अक्सर ‘रिल्याक्स्ड’ रहने सभापति शेरबहादुर देउवा उपचुनावपछि भने तनावमा छन् । उनी निकट एक नेताले भने अनुसार ०७४ को चुनावमा कांग्रेसले वाम गठबन्धन सामु धेरै सिट गुमाउँदा पनि उनी यस्तो तनावमा थिएनन् । ‘कम्युनिस्ट मिलेपछि हारिहालिन्छ नि’, उनी एउटा निपात र अरु तीन शब्द बोलेर विरोधका स्वरहरुलाई सामसुम पार्थे ।

बुधबार धुम्बाराही निवासको पदाधिकारी बैठकमा भने देउवा स्वतन्त्र उम्मेदवारहरुले पाइरहेको समर्थनप्रति चिन्तित देखिन्थे । पोहोर वैशाखको स्थानीय चुनावदेखि मंसिरको आम चुनाव, अनि केही साताअघिको उपचुनावका क्रममा प्राप्त नतिजाहरुबारे देउवाले आफ्नो संक्षिप्त बुझाइ बैठकमा सुनाए । कांग्रेस जगाउनुपर्ने बताए । कुनै ठोस कार्ययोजना दिएनन् । बरु सजिलो सूत्र थमाए– भ्रातृ संस्थाहरुमा रिक्त पद पूर्ति गरिहालौं । त्यसका लागि उनले दुई महामन्त्री र मुख्य सचिवलाई कार्ययोजना बनाउन लगाए ।

देउवा बोलिसक्नेबित्तिकै महामन्त्री गगन थापा पड्किए, ‘पार्टीमा सर्वेसर्वा हुनुभएको छ । सबै निर्णय एकलौटी गर्नुहुन्छ । केन्द्रीय सदस्यहरु एक्लै थप्नुभयो । भ्रातृ संगठनहरुमा सभापति पनि आफैं छान्नुभयो । अरु पदमा हामी किन ? त्यो पनि आफैं गरिहाल्नुहोस् ।’

थापाले अहिलेसम्म पार्टीलाई नीति, पद्धति बेगर हिँडाएको जिम्मेवारी देउवाले लिनुपर्ने बताए । महामन्त्रीका रुपमा कार्यकर्ताहरुले निर्वाचित गराए पनि पार्टीमा भूमिकाविहीन बनाएर के गर्न खोजेको हो भनी प्रश्न गरे ।

बैठकमा सहभागी एक पदाधिकारीले अनलाइनखबरलाई आइतबार साँझ बताए अनुसार देउवाले नरम भाषामा थापालाई जवाफ दिन खोजे, ‘अब तपार्इं पनि नेता भइसक्नुभयो यार । के गर्ने हो प्लान गर्नुहोस् ।’

शुक्रबार बसेको अर्को बैठकमा पनि त्यसैको पुनरावृत्ति भयो । खासमा थापा देउवासँग झोंक्किए पनि त्यत्तिकै मात्रामा रिसाएका छन् अर्का नेता शेखर कोइरालासँग । शब्दमा हिजोआज मानिसहरुले ‘शेखर–गगन समूह’ भन्ने गरे पनि आन्तरिक रुपमा भावनात्मक ऐक्य बाँकी छैन ।

यस्तैमा हुन गएको मन्त्रिपरिषद विस्तारले पनि थापालाई त्राण दिएन । अघिल्लो साता र आज आइतबार गरी नवौं र दसौंपल्ट विस्तारित मन्त्रिपरिषद्मा पनि थापा र अर्का महामन्त्री शर्माको चाहना प्रकट हुन पाएन । देउवाले कि त आफ्ना, कि त शेखर कोइराला पक्षका मान्छेहरुलाई नै बढ्ता महत्व दिँदा आफू छायाँ परेको महामन्त्री थापाले अनुभूत गरेका छन् । उनी निकटस्थ नेताहरुले थापा पार्टीभित्र र बाहिर शृंखलाबद्ध प्रहारको शिकार हुनुपरेको बताएका छन् ।

‘जीवन परियार, प्रदीप पौडेल र बद्री पाण्डेभित्रबाट मन्त्री बनाउनुपर्ने थियो, राज्यमन्त्री पनि पाए मुक्ताकुमारी यादवको’, थापा निकट स्रोतले भन्यो, ‘तर शेखर दा अरु नै दुई मन्त्रीको नाम दिएर सिंगापुर उड्नुभयो । गगनजीले फोन गर्दा पनि उठाउनुभएन ।’

पछिल्लो समय देउवाले शेखरलाई प्रयोग गरिरहेको, त्यसैका आधारमा पार्टीभित्र एकलौटी मच्चाइरहेको थापाको बुझाइ छ । शंका कतिसम्म बढ्दै गएको छ भने मंसिरको चुनावमा प्रत्यक्षतर्फ टिकट वितरण गर्नेदेखि आगामी पार्टी महाधिवेशनमा शेखरलाई आफ्नो समूहको तर्फबाट सभापतिको टिकट दिनेसम्मका आश्वासन देउवाले दिएपछि शेखर मत्थर बन्दै गएको थापाको बुझाइ छ ।

महामन्त्री थापाले अर्का पदाधिकारीसँग भने अनुसार उनी एकदमै दिक्दारीको भावमा छन् । पार्टीमा आफूले बनाएका कुनै पनि योजनालाई अघि बढ्न नदिएको, सबैखाले नियुक्तिहरुमा कुनै परामर्श नगरेको भन्दै थापाले असन्तुष्टि जनाइरहेका छन् ।

‘उपचुनाव कारण होइन, परिणाम हो । यत्ति पनि बुझ्न नसक्ने ?’ थापाले देउवाको आलोचना गर्दै भनेको उद्धृत गर्दै ती पदाधिकारीले सुनाए ।

आगामी रणनीतिबारे थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मसिनो गरी छलफल गरिसकेको उनका निकट सहयोगीले बताए । कांग्रेस नेतृत्वप्रति मानिसहरुमा बढ्दो विकर्षण, नागरिकहरुले नरुचाएको कांग्रेस–माओवादी गठबन्धन लगायत विषयमा कार्यकर्ता पंक्तिमा के सन्देश लगेर जाने भन्नेमा उनीहरुको नियमित छलफल भइरहेको छ ।

ती नेताका अनुसार कार्यकर्ता पंक्ति नै पार्टीसँग एकढिक्का नहुने हो कि भन्ने चिन्ताले महामन्त्रीहरुलाई छोएको देखिन्छ । ‘सभापतिले आफू पनि केही नगर्ने, गर्न चाहनेलाई पनि गर्न नदिने स्थिति उत्पन्न भएको छ’, महामन्त्रीहरुसँग निकट नेताले भने ।

यसै क्रममा आइतबार साँझ महामन्त्री थापाले फेसबुक र ट्वीटरमा लेखे, जुन उनका यसअघिका ट्वीटहरुको भाषाशैलीसँग मेल खाँदैन ।

‘तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो १’ थापाले लेखेका छन् ।

अनलाइनखबरसँग टिप्पणी गर्ने क्रममा देउवा निकट नेताले त्यसलाई थापाको ट्वीटरबाट आए पनि अर्का महामन्त्री शर्माको जस्तो लाग्ने भाषा भएको कटाक्ष गरे । ‘मतलब अलिक अमूर्त र साहित्यिक खालको भन्ने अर्थमा’, ती नेताले भने ।

थापाको ट्वीट हेर्दाखेरि अमूर्त भए पनि यसका अर्थहरु उनीहरु लगाउन सक्षम छन् । सन्निकट संकटलाई त्यसले संकेत गरेको छ । कतिपय कार्यकर्ताहरु कांग्रेस छाडेर नयाँ उदाउँदा पार्टीमा अवसर चहार्दैछन् ।

थापाको ट्वीट प्रति धेरैले पार्टीभित्र विद्रोह या विभाजनसम्मकै संकेतका रुपमा अथ्र्याए पनि उनको भित्री समूह त्यस रुपमा परिभाषित गर्दैन । थापा निकट नेताले भने अनुसार निर्णायक संघर्ष हुन्छ, तर पार्टीभित्रै । त्यसले नयाँ ध्रुवीकरणलाई स्पेस दिनेछ ।

कांग्रेस राजनीतिलाई नियालिरहेका विश्लेषकहरुले पनि त्यस्तो सम्भावित कदमका पछिल्तिर आधारहरु देखेका छन् ।

कांग्रेस राजनीतिलाई विश्लेषण गरिरहेका गेजा शर्मा वाग्लेका अनुसार दुई महामन्त्रीले अहिलेसम्म भएका घटनाक्रम, परिणामविहीन प्रयत्न र धोकाबाट पाठ सिक्न खोजेका छन् । आइतबार थापाले दिएको ट्वीटर÷फेसबुकको संक्षिप्त वक्तव्य त्यसैको संकेत हो ।

‘अहिलेसम्म कांग्रेसमा देउवा र कोइराला समूह गरी दुई ध्रुवमा विभाजित थियो, अब गगन–विश्वप्रकाशले वैचारिक तथा सैद्धान्तिक आधारमा नयाँ ध्रुवीकरण गरी नयाँ समीकरण बनाउन चाहेको देखिन्छ,’ उनले भने, ‘गगनजीले देउवालाई राजनीतिक, सैद्धान्तिक, सांगठनिक र मनोवैज्ञानिक दबाव दिंदै पार्टी रूपान्तरण, पुस्तान्तरण र सुधारका लागि परिणाममुखी पहल मात्रै होइन, निर्णायक संघर्ष नै गर्न खोजेको देखिन्छ । किनभने सुधार र परिमार्जनका दिशामा अघि बढ्ने कि यहीँ रोकिने भन्ने प्रश्न पार्टीभित्र मुख्य बन्दै गएको देखिन्छ ।’

 

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट