काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ ।
त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।
प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।
तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।
खाँणले प्रहरी पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरी आशंका थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।
तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए । मोबाइलबाट नयाँ विवरण फेला नपरेपछि उनलाई गिरोहलाई अनुकूल हुने गरी निर्णयहरु गराएको आरोपमा पक्राउ गरिएकाले त्यति फरक नपर्ने अधिकृतहरु बताउँछन् ।
‘अझै माथिसम्म जानसक्छ कि भन्ने थियो, त्यो चाहिँ देखिएन’, एक अधिकृत भन्छन् ।
१६ जनालाई नै फरार प्रतिवादी बनाएर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको छ ।