काठमाडौं । मकवानपुरको हेटौंडा बजारमा घर भएकी विन्दबासिनी को १० वर्ष अगाडि यस्तो अनुहार थिएन । हरेक बिहान राम्री भएर कलेज जान्थिन् । कलेज जानु अगाडि बिन्दवासिनी कंसाकार आफूलाई ऐनामा हेर्थिन् । तर, २०७० वैशाख ९ गतेको एक घटनाले उनको जीवनले नयाँ मोड लियो ।
२०७० मा १९ वर्षकी थिइन् कंसाकार । उनी सदा झैं कलेजबाट फर्केर पसलमा बसेकी थिइन् । चिनजानका दिलीपराज केशरी (राज) आइपुगे । दिलीपराजको हातमा सानो बट्टा थियो । ‘हजुरआमालाई दिनू’ भनेर उसले त्यो बट्टा मतिर सोझ्यायो’ कंसाकारले भुलेकी छैनन्, ‘त्यसपछि उसले बट्टा खोलेर मेरो मुखमा छ्याप्यो ।’
त्यो बट्टामा एसिड थियो । हात-मुख सबैतिर असह्य हुने गरी पोल्यो । चिच्याउँदै घरभित्र छिरिन् कंसाकार । उनको क्रन्दन सुनेर परिवारका सबै दौडिंदै आए ।
नेपाल प्रहरीको रेकर्ड अनुसार नेपालमा एसिड आक्रमण भएको यो दोस्रो घटना थियो । त्यस अगाडि २०६३ मा सुनसरीमा सदिना खातुनमाथि एसिड छ्यापिएको थियो ।
एसिडले जलेकी कंसाकारको जीउमा परिवारका सदस्यले पानी खन्याए । एसिडको जलन पानीले कहाँ बिसेक हुन्थ्यो र !
कंसाकारलाई लगेर आफन्तहरू हेटौंडा सामुदायिक अस्पतालतिर दौडिए । हेटौंडा अस्पतालले प्राथमिक उपचार मात्र गर्न सक्यो । आँखामा समेत एसिड परेको भन्दै आँखा अस्पताल जान रिफर गर्यो
हेटौंडामा उपचार सम्भव नभएपछि कंसाकारलाई काठमाडौं ल्याइयो । काठमाडौंको नेपाल मेडिकल कलेजमा तीन महिनासम्म उनको उपचार चल्यो । त्यसो त अहिले पनि उनको उपचार सकिएको छैन । हरेक ६-६ महिनामा उनी उपचारका लागि भारत जान्छिन् ।
तीन महिनाको अस्पताल बसाइपछि घर फर्किइन् कंसाकार । नियमित उपचारका लागि अस्पताल आउ–जाउ गरिरहनुपर्ने भएपछि उनी कालीमाटीमा ठूलोबुबासँगै बस्न थालिन् । अस्पतालको बसाइ सकिए पनि अनुहारमा भने नियमित ब्याण्डेज गर्नुपथ्र्यो ।
कंसाकारका बुबा वा भाइले ब्याण्डेज गरिदिन्थे । एकदिन कंसाकार आफैंले आफ्नो अनुहारमा ब्याण्डेज गरिन् । ‘एकदिन बुबा नभएको बेला म आफैंले ब्याण्डेज गर्नसकें’ कंसाकार सम्झेरै पनि हर्षित हुन्छिन्, ‘यो मेरो जीवनकै खुसीको दिन थियो ।’ उनले बुवालाई फोन गरेर आफूले आफ्नो ब्याण्डेज आफैं गरेको सुनाइन् ।
आफैं ब्याण्डेज गर्न सक्ने भएपछि उनी हेटौंडा फर्किइन् । हेटौंडा पुगेर पनि उनी दुई महिनासम्म घर बाहिर निस्किइनन् । एकोहोरो घरमा बसिरहँदा मन भुलाउने बाटो भयो युट्युब । ‘कहिले सन्दीप महेश्वरीको मोटिभेसनल भिडियो त कहिले कपिल शर्माको कमेडी हेर्न थालें’ कंसाकार सुनाउँछिन्, ‘यी हेर्दा-हेर्दा पनि वाक्क लाग्यो ।’
अनि उनले ह्यान्डिक्राफ्ट बनाउन सुरु गरिन् । ‘बुबाले पुराना पत्रिका र चार्ट पेपर ल्याइदिनुभयो । केही दिन ह्यान्डिक्राफ्ट बनाएँ’ उनले भनिन्, ‘मैले बनाएका क्राफ्ट पसलमा लगेर बेच्छु भन्नुहुन्थ्यो बुबा ।’ तर, उनलाई थाहा थियो ती ह्यान्डिक्राफ्ट बिक्री हुँदैनन् । तर बुवाले हौसला प्रदान गर्न त्यसो भनेको अनुमान उनी लगाउँछिन् ।
एक्लिएकी कंसाकारलाई उनका दिदीहरूले घर बाहिर निकाले । दिदीहरूसँग साँझपख उनी बाहिर निस्कन थालिन् । ‘जलनका कारण दिउँसो घाममा निस्कन मिल्दैनथ्यो । अनुहार छोपेर, चस्मा लगाएर निस्कन थालें’ धेरैपछि उनलाई बन्धनबाट मुक्त भएजस्तो लाग्यो । गुमेको आत्मविश्वास फर्कियो ।
त्यसपछि उनी फेरि कलेज जान सुरु गरिन् । ‘कलेज जान थालेपछि साथीहरूसँग घुलमिल हुन थालें’ कंसाकारलाई सजिलो भयो, ‘उनीहरूसँग समय बिताउन थालेपछि मन हलुका भयो ।’
तर, उनी नियमित कलेज जान पाइनन् । ‘हरेक तीन महिनामा उपचारका लागि भारत जानुपर्ने भएपछि पढाइ छुट्न थाल्यो’, उनी सुनाउँछिन् । कंसाकार स्नातक तहमा पढ्दैछिन् ।
अहिले पनि उनी उपचारका लागि दक्षिण भारतको तमिलनाडु राज्यको मधुराई जान्छिन् । उनका अनुसार सुरुमा हरेक तीन महिनामा उपचारका लागि जानुपर्ने भए पनि अहिले भने ६ महिनाको अन्तरालमा जानुपर्छ ।
‘एसिड जलनको जीवनभर उपचार गरिरहनुपर्छ । जिन्दगीभर औषधि खानुपर्छ । छालाको खुबै ख्याल राख्नुपर्छ । पोलेको ठाउँमा सधैं मल्हम लगाइरहनुपर्छ । चर्को घाममा बाहिर निस्कनुहुँदैन’ कंसाकार सुनाउँछिन् ।
६ वर्षपछि अपराधी पक्राउ पर्दा कंसाकारको जीवन भने फेरिइसकेको थियो । उनका बुवाले व्यापारका लागि भनेर लिएको ऋण उपचारमा सकिइसकेको थियो ।
यतिन्जेलसम्म कंसाकार परिवारले ८० लाख भारतीय रुपैयाँ उपचारमा खर्च गरिसकेको थियो । ‘मेरो उपचार र रेखदेखका लागि भनेर सारा परिवारको अवस्था भताभुंग भयो’, कंसाकार भन्छिन् ।
प्रहरीले ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा चलाएर दिलीपराजलाई अदालत पुर्यायो । त्यतिबेला एसिड आक्रमण सम्बन्धी छुट्टै कानुन नहुँदा दिलीपराजलाई १ लाख रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय तोक्यो मकवानपुर जिल्ला अदालतले ।
तर यो आदेश भएको चार वर्ष भइसक्दा पनि कंसाकारले क्षतिपूर्ति पाएकी छैनन् । ‘अहिलेसम्म त्यो क्षतिपूर्ति पाइएको छैन’ कंसाकार सुनाउँछिन्, ‘त्यसपछि पनि उपचारमा कति खर्च भयो-भयो !’
प्रहरीको रेकर्ड अनुसार कंसाकारपछि पनि १७ जनामाथि एसिड प्रहार भयो । तारन्तार एसिड प्रहारका घटना सार्वजनिक हुन थालेपछि उनी एसिड आक्रमणको विरुद्ध छुट्टै कानुन बनाउनुपर्ने आवाज उठाउन थालिन् ।
उपचार, कलेजसँगै जागिरे जीवन व्यतीत गरिरहेकी कंसाकार २०७९ को आम चुनावदेखि राजनीतिमा आइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा आउने भएपछि उनले बैंकको जागिर माया मारिन् । ‘एसिड मात्र होइन, जलनका बारेमा नै अब सचेतना अभियान फैलाउनुपर्छ भनेर राजनीतिको बाटो रोजें’, कंसाकार भन्छिन् ।
राजनीतिमा आएपछि उनलाई अचेल भ्याईनभ्याई छ । राजनीतिक भेटघाटका शृंखलामा दौडधुप गरिरहेकी कंसाकारलाई रास्वपाले समानुपातिक सांसदको सूचीमा राखेपछि उनको व्यस्तता बढ्यो ।
राजनीति मार्फत नै एसिड र जलनका विषयमा सचेतना फैलाउन कस्सिएकी कंसाकार विस्तारै नियमित जीवनमा फर्किंदैछिन् । राजनीतिक भेटघाटका लागि घरबाट निस्कनु अगाडि उनी विगतमा जस्तै आफूलाई ऐना हेर्छिन् । कहिलेकाहीं मोबाइलको फ्रन्ट क्यामेरा खोलेर जलन कम गर्न लगाएको क्रिम मिलाउँछिन्, घाममा बस्दा लगाएको चस्मा मिलाउँछिन् र भन्छिन्, ‘१० वर्षको संघर्षपछि यो आत्मविश्वास आएको हो ।’